Monday, May 27, 2013

भोको पेटको अघाउने कथा : अन्तराल (फिल्म समीक्षा)

भोको पेटको अघाउने कथा : अन्तराल (फिल्म समीक्षा) काठमाडौंबाट पानी बगेको हजारौं वर्ष भइसक्यो तर यसको तलाउ चरित्र भने यथावत छ। यहाँ लाखौं मान्छेबीच माछाझैं तैरिने, डुब्ने र बग्ने संघर्ष चल्छ। कोही सफल हुन्छ, त कोही असफल। लाखौं मान्छेका पसिना र आँसुले भरेको काठमाडौं नामको यही 'तलाउ'मा तैरिएको एउटा डुंगाजस्तो लाग्छ, फिल्म 'अन्तराल'।काठमाडौंका दृश्य नसमेटिएको नेपाली फिल्म सायदै होलान्। काठमाडौं सयौं नेपाली फिल्ममा छाइसकेको छ। तर, काठमाडौंको यथार्थ जीवन उप्काउन भने निकै थोरै फिल्म सफल छन्। 'लुट' र 'साँघुरो'पछि 'अन्तराल'मा काठमाडौंका युवाहरुको भोको पेट र मिठो सपनाको मौलिक कथा पस्किएको छ।


  • फिल्म:  अन्तराल
  • रेटिङ:  रेटिङ
  • निर्देशक:  दीपा बस्नेत
  • लेखक:  अभिमन्यु निरबी
  • निर्माता:  बीबी बस्नेत, लक्ष्मीकान्त पाण्डे
  • कलाकार:  मानव सुवेदी, नम्रता सापकोटा, कमलमणि नेपाल, अशिष्मा नकर्मी, राजकुमार पुडासैनी, लोकेन्द्र लेखक, घनुभाइ जोशी, जेसिका बोगटी, अमितेश शाह, रुबी राणा, उज्ज्वल शर्मा भण्डारी आदि।

म्यानपावरमा पैसा डुबाएको घनु, आमाबाउको घर छोडेर आएको रिदम, घरबेटीकी छोरीसँग लभ गर्ने कमलीकान्तजस्ता समाजको संस्थापन पक्षप्रति बागी युवाहरु मात्र होइन सामन्ती र मानवताविहीन पात्रको प्रतिनिधित्व गर्ने डांगो र जीवनलाई दिमागले बाँच्ने रमेशजस्ता 'मेकानिकल' पात्रले पनि 'अन्तराल'को क्यान्भासमा रङहरु पोतेका छन्।
निर्देशक दीपाले आफूले भोगेका र देखेका निम्नमध्यम वर्गीय पात्रहरुका कथालाई फिल्ममा परिचालन गरेकी छन्। त्यहीभएर यो विश्वसनीय लाग्छ। बिना कुनै रिसर्च आफूले नभोगेका उच्च वर्गीय वा निम्नमध्यम वर्गीय पात्रमाथि फिल्म बनाउन खोज्दा धेरै नेपाली निर्देशक चुकेका छन्। 'अन्तराल' यसमा चुकेको छैन।
'राम्रो रचना मिठो नेपाली' शैलीका एकैखाले घोकन्ते संवाददेखि दिक्क भएकालाई 'अन्तराल'ले सञ्चो बनाइदिन्छ। पात्रसुहाउँदो र पात्रको मर्म प्रकट गर्ने संवादले आनन्द दिन्छ। संवादहरु सम्बन्धित पात्रका गरिबी र दयनीयताप्रति नै व्यंग्य गर्ने खालका छन्। कतैकतै चाहिँ संवाद सम्प्रेषण नाटकीय सुनिन्छ। यसमा मिहेनत गरिएको भए हुन्थ्यो।
सबै कलाकारका रियलिस्टिक अभिनयले फिल्म सिंगारिएको छ। आफूले पर्दामा उतार्न लागेको पात्रका जीवनसँग घुलेर काम गरेका छन् कलाकारहरुले। डांगो बनेका राजकुमार पुडासैनी अद्भूत देखिएका छन्। नाटकबाट आएका कलाकारले सशक्त अभिनय गर्छन् र उनीहरु घुलनशील हुन्छन् भन्ने नजीर फेरि बनेको छ। नेपाली फिल्ममा नयाँ सक्षम कलाकारको विविधता थपिने क्रम जारी छ। रुबी राणा र रिदमबीच आमा–छोराको वास्तविक केमिस्ट्री भने निर्माण गर्न सकिएको छैन।
डांगोले आफ्नो घरबाट डेरामा बस्ने केटाहरुको सामान फ्याँकिदिएको दृश्यमा काठमाडौं सहरको असली चरित्र उजागर भएको छ। गरिबलाई किराफट्यांग्राको पनि दर्जा नदिने काठमाडौंका धेरैजसो सुकिलामुकिलाको झझल्को पाइन्छ डांगोमा। डांगो अनुत्पादक, अराजक र विवेकहीन छ। पुर्ख्यौली सम्पत्ति भएकोले ऊ काम गर्दैन। काठमाडौंको सामन्ती चरित्र उसमा छ।
कलेजको माहौल, रेस्टुरेन्टको दृश्य र केटाहरुको डेराको इन्टेरियरले फिल्मको 'फिजिकल रियालिटी' बलियो देखिएको छ। मुख्य पात्रलाई मात्र ध्यान दिने गर्दा धेरै नेपाली फिल्मका फिजिकल रियालिटी भताभुंग भएका छन्। 'अन्तराल'मा चाहिँ साना–साना पात्रको उपस्थितिमा समेत ध्यान दिइएको छ।
कलेजको दृश्य थोरै छ, तर रोचक छ। घाँटीमा 'नेक ब्रेस' लगाएर लेक्चररले क्लास लिइरहेको दृश्यले नेपालको शिक्षा पद्धतिको अस्वस्थतालाई इंगित गर्छ। कुनै सिस्टम वा डिभाइसको टेकोबिना नेपाली शैक्षिक संस्कृति सुदृढ हुन नसक्ने व्यंग्य उक्त 'नेक ब्रेस'मा झुन्डिएको छ।
फिल्ममा बिझ्ने पक्ष छायांकन हो। छायाँकार शिवराम श्रेष्ठको काम स्थीर छैन। कतैकतै 'फर्म'मा देखिने उनले धेरै दृश्यमा बाटो बिराएका छन्। 'रुल अफ थर्ड', हेड रुम, लिड रुम, गोल्डेन रेसियोजस्ता आधारभूत सिद्धान्त समेत धेरै ठाउँमा लत्याइएको छ। फ्रेमिङ सन्तुलित छैन। कम्पोजिसनको सुन्दरता विचलित छ। रिदमसँग अनलाइनमा कुरा गर्ने पूजालाई काठमाडौं नआउन्जेल कम्प्युटरकै स्त्रि्कनमा सीमित गरिदिएको भए दर्शकलाई पनि ऊ निकै टाढा रहेको महसुस हुन्थ्यो।
धेरै पात्र हुँदा पटकथामा देखिने समस्याले 'अन्तराल'लाई पिरोलेको छ। रिदमले एल्बम निकालेर 'फ्लप' भइसक्दा बाँकी पात्रहरुको 'जर्नी'को ग्राफलाई पटकथा लेखक अभिमन्यु निरबीले चटक्कै बिर्सेका छन्। कम्तीमा एल्बम प्रकरण सकिसक्दा घनुको छटपटी, कमलीकान्त र मनिला, डांगो र केटाहरुको सम्बन्धमा धेरै 'पानी बगिसक्नु' पर्ने हो।
डिजे नामक पात्रले घरबेटीकी छोरीलाई आँखा लगाएको प्रसंग सुरुमै आउँदा पछि अर्कै डेरामा अरु नै केटाहरुले मनिलालाई हेर्दा 'रिपिटेसन'को महसुस हुन्छ। यसले डेरामा बस्ने केटाहरुको काम नै घरबेटीकी छोरी ताक्नु हो भन्ने गलत तर्क दिन खोजेको छ। चामल र मट्टितेल सिद्धिएर केटाहरु निराश हुन्छन्। तर, त्यसको तत्काल समाधान कसरी गरियो, फिल्मले देखाउनुपर्थ्यो, देखाउँदैन।
फिल्मको अन्त्यतिर चार पात्रहरुको सफलता 'सर्ट–कट'मा देखाइएको छ। सुरुमा उनीहरुको समस्या र संघर्षमा जुन सुक्ष्म वर्णन थियो, सफल हुने प्रक्रियामा पनि लगभग उतिकै सुक्ष्मता हुनुपर्थ्यो। केही कमजोरी भए पनि लेखक अभिमन्युले भविष्यमा अझ राम्रा फिल्म दिनसक्ने सम्भावना बोकेका छन्।
ठेलामा मःमः बेच्ने निष्कर्षमा केटाहरु कसरी पुगे? उनीहरुसँग अरु विकल्प थिएनन्? कसरी त्यही उपाय ठिक ठाने? जस्ता प्रश्नप्रति फिल्म मौन छ। केटाहरुको समूहमा पूजा मिसिनेबित्तिकै मःमः खाने ग्राहक भीड लागेको र 'गोटी' खेलेको हेरेकै ठाउँबाट पुलिसले केटाहरुलाई समातेको दृश्यहरुमा निर्देशकको अपरिपक्वता छरप्रष्ट हुन्छ। कमलीकान्त र मनिलाले आकास हेरिरहँदा तारा खसेको निकै नियोजित छ।
गीतहरु मेलोडीप्रधान छन् तर फिल्ममा अनिवार्य सुनिने चाहिँ 'माइलोको पीडा'मात्र हो। त्यही गीतका कारण कमलीहरु र रिदमबीच चिनाजान हुन्छ। बाँकी गीतहरु फिल्मको स्टाइल अनुकूल त छन् तर तिनको प्रयोग फिल्मको 'स्पिरिट' सुहाउँदो हुन सकेको छैन।
फिल्म कलेज पढेकाले राम्रै फिल्म बनाउँछन् भन्ने जरुरी छैन। तैपनि ओस्कार फिल्म कलेजमा पढेकी दीपाले 'अन्तराल'लाई एउटा हेर्नलायक फिल्म नै बनाएकी छन्। उनको पढाइको नाक जोगिएको छ।

दीपेन्द्र लामा


युद्धविरोधी कथा 'उमा'

नेपाली फिल्ममा दुई धारको बहस निकै चल्यो। निर्माताहरु 'मूलधार'का फिल्म बनाउँथे। सूत्रवद्ध र मसलायुक्त फिल्म मूलधारमा दर्ता हुन्थ्यो। विचारकहरु 'वैकल्पिक धार'को वकालत गर्थे। सूत्र र मसलामुक्त भए वैकल्पिक धारको मान्यता दिइन्थ्यो। तर, यस्ता फिल्म बनाउन तम्सिनेको संख्या अत्यन्त थोरै रह्यो। किनभने 'मूलधार'को बनाए पैसा उठ्थ्यो।  
युद्धविरोधी कथा 'उमा'
उद्योगको अनुहार फेरिँदै गएको छ। वैकल्पिक धारबाट प्रेरित फिल्मकर्मी मौलाएको देखिन्छ। तर, बजार राम्रो भएकोले होइन, मूलधारले पनि पैसा उठाउन छोडेकोले। पैसा नभए 'प्रशंसा'को आशमा फिल्मलाई यथार्थसँग नजिक बनाउने प्रयास हुँदै आएको छ। यसमा फिल्म पढेका युवापुस्ता बढी सक्रिय छन्। 
उद्योगमा दुई धारका 'अतिवादी'को छुट्टाछुट्टै पंक्ति बनिरहेका बेला डकुमेन्ट्रीमा गहकिलो चिनारी बनाएका छिरिङरितार शेर्पाको कथानक फिल्म 'उमा'ले दर्शकको ध्यानाकर्षण गराएको छ। 'मुकुण्डो'जस्तो 'आर्ट फिल्म' बनाएका शेर्पाले १० वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा साधारण फिल्म बनाएका छन्, सबैलाई छुने। दुवै धारका हिमायतीले 'आफ्नो' दाबी गर्न मिल्ने। 'फिल्ममा कला छाँट्ने कि भावना पोख्ने?' भन्ने बहसबीच उनले भावनालाई कलात्मक ढंगले पेश गर्ने लोकप्रिय बाटो अपनाएका छन्।
फिल्म द्वन्द्वको पृष्ठभूमिमा छ। तर, यसले कसैको पक्ष लिइएको छैन, दुवैको विकृति लुकाएको पनि छैन। पक्षपोषण र अतिरञ्जनाबाट फिल्मलाई मुक्त बनाउन छिरिङ सफल छन्। यस्तै विषयमा बनेका अधिकांश फिल्म एकपक्षीय, विभत्स र 'लाउड' थिए। माओवादी फिल्मकर्मी नै संलग्न भएका फिल्महरु पनि जनयुद्धको यथार्थभन्दा अलग थिए। यथार्थलाई 'फिल्मी' बनाउने कौशल उनीहरुमा नदेखिँदा दर्शकमा कुनै छाप देखिएन। जनुयुद्धको कथा बेचेर कमाउने होडमा यस्ता फिल्म बने, हराए।
'उमा'मा द्वन्द्व छ, हेर्नै नसकिने हिंसा छैन। परिबन्दले एउटा साधारण नागरिकलाई कसरी छपामार बनाउँछ भन्ने देखाउन र प्रहरी दमनका कारण यस्तो संख्या बढेको बुझाउन छिरिङले मजैले सकेका छन्। पत्रकार नारायण वाग्लेको धारणामा यो 'मानवीय पक्ष लिएको, प्रोपोगान्डाबाट मुक्त, हिंसाको चर्को दृश्यरहित फिल्म हो। जसमा अभिनय बेजोड छ। पछाडिको १० मिनेट भने हलमा धेरैदिन चलाउने मानसिकताले बनाइएको जस्तो लाग्छ।'
वाग्लेले औल्याए जस्तै छोटै भूमिकामा देखिए पनि सुनील सर (प्रकाश घिमिरे) र अनील कायस्थ (प्रवीण खतिवडा) गहकिलो छाप छोड्न सफल छन्। मिलन (सौगात मल्ल), उमा (ऋचा शर्मा) र आमा (मिथिला शर्मा)को छनोट सही छ। फिल्मको पटकथा बगेको छ। कतै केही बिग्रिएको जस्तो लाग्छ तर त्यसको बारेमा सोच्न नपाउँदै नयाँ दृश्यले समातिहाल्छ। संवाद मौलिक छ, फिल्मी छैन। 'उमा'लाई यथार्थसँग नजिक तर प्रचुर 'ड्रामाटिक' फिल्मभन्दा फरक पर्दैन। नाटकीय पक्षलाई स्वाभाविक तुल्याउने जमर्को गरिएकाले राम्रो लाग्छ। यसो गर्न छायाँकार पुरुषोत्तम प्रधान अब्बल देखिएका छन्।
कुन क्यामेराले खिचे 'ए' ग्रेडको मान्ने? भनेर वर्गीकरणको परिभाषामा रुमल्लिरहेका पण्डितहरुलाई सामान्य 'क्यानोन फाइभ डी' क्यामेराले चुनौती दिन्छ। क्यामेराको प्रयोगमा 'कुन'भन्दा 'कसरी' महत्वपूर्ण छ भन्ने बुझाउन 'उमा' सक्षम छ।
फिल्मका सटहरु अर्थपूर्ण छन्। विचारको उतारचढाव बुझाउन हल्लिएको सटले सहयोग पुर्याोएको छ। माकुरोको जालोबाट उमालाई देखाइएको सटले उनी फन्दामा परेको संकेत गर्छ। क्यामेरा एंगलले अर्थ लगाउने दृश्य ठाउँठाउँमा छन्। फिल्ममा विम्ब र प्रतीकको अधिक प्रयोग गरिएको छ। गीत अर्थपूर्ण र दृश्यलाई बलियो बनाउने खालका छन्। क्लाइमेक्ससम्म आइपुग्दा दृश्यमा खेल्न सक्षम व्यक्तिका रुपमा निर्देशकले आफूलाई पुष्टि गरेका छन्।
धेरै ठाउँमा 'टि्रटमेन्ट' नौलो लाग्दैन। तर, सही ठाउँमा गरिएजस्तो अवश्य लाग्छ। अनीलले उमाको चुँडिएको चप्पल गाँसिदिन्छ, मायाको सम्बन्ध जोडिन्छ। यो दृश्य 'सिम्बोलिक' छ। तर, पहिलो भेटमै गाउँ घुमाइदिएको त्यति सुहाउँदैन। असई मिलन ड्युटीको कुरा घरमा भन्दिनँ भन्छ तर घरबाटै अफिस आउनेजाने गर्छ। चौकीमा कम घरमा बढी देखिँदा उनलाई प्रहरी अधिकृतको रुपमा स्थापित गर्न सकिएको छैन।
बच्चाहरुले इन्सपेक्टर धिरेन (अशोक शर्मा)को घरमा ढुंगा हानेको र उनीहरुलाई पुलिसले गोली ठोकेको दृश्य तुलनात्मक रुपमा अपरिपक्व छ। राती पानीमा रुझेर लास गाड्दै गर्दा पुलिसले गरेको 'गोल्ड क्वेस्ट'को गफ स्वाभाविक लाग्दैन।
उमा परिबन्दमा परेर मओवादी बनेको दृश्य जति सान्दर्भिक छ, घर आएका बेला 'आत्मसमर्पण गर म केही हुन दिन्न' भनेर दाइले फकाउँदा नमान्नुमा बलियो कारण छैन। उमालाई छापामार र युद्धप्रेमीका रुपमा रत्याउन निर्देशकले सकेका छैनन्। त्यसैले उनी फर्किएको दृश्य कमजोर बनेको छ। प्रेमी गुमाएकी उमाले छिट्टै अर्को छापामार मनपराएको र शारीरिक सम्पर्क भएको दृश्य 'क्लाइमेक्स'लाई थप संवेदनशील तुल्याउने चेष्टाले राखेको जस्तो देखिन्छ। तालिममा खासै रुचि नदेखाएकी, कुनै दुश्मन नबनाएकी उमाले छामापारको रुपमा कसरी बढुवा पाइन् भन्ने जस्ता सानातिना समस्या यसका छन्।
तथापि 'हरेक सटले एउटा कथा भन्न सक्नुपर्ने' चुनौतीलाई शेर्पाले अधिकांश ठाउँमा पूरा गराएका छन्। 'कास्टिङ'लाई समेत उनले कलाकार चिनाउन मात्र नभएर दर्शकलाई फिल्मको सन्दर्भ बुझाउन र द्वन्द्वबाट प्रभावित फिल्म हेर्न तयार बनाउने काममा प्रयोग गरेका छन्। आम नेपाली 'फर्मुला फिल्म'मा जे चिजको प्रयोग सावधानी र स्वाभाविक रुपमा भएको छैन त्यो 'उमा'मा छ। युद्धमाथि बनेको फिल्म भए पनि यो युद्धविरोधी छ।

फिल्मः उमा

रेटिङः 35
निर्देशकः छिरिङरितार शेर्पा
निर्माताः मिला प्रोडक्सन्स
लेखकः छिरिङरितार, छिरिङ छोदेन र कुमार भट्टराई

कलाकारः ऋचा शर्मा, सौगात मल्ल, मिथिला शर्मा, प्रवीण खतिवडा, प्रमोद अग्रहरि, पुष्कर गुरुङ, प्रकाश घिमिरे आदि।

सन्तोष रिमाल

Saturday, May 11, 2013

फिल्म समीक्षा: मञ्जरी- चालीस लाखको झुठ!

नयाँ कलाकार, निम्न मध्यम वर्गीय पात्र र बुटवलको 'सेटिङ'ले फिल्म 'मञ्जरी' स्थानीय स्वादको हुने अनुमान थियो। नजिकैको टोल, चोक र गल्लीका पात्रलाई टिपेर मौलिक कथा बुनिएको झैं लाग्थ्यो। ठूलो हलचल पैदा नगरे पनि यसको प्रोमोले फिल्म केही न केही ताजा हुने संकेत दिएको थियो।

फिल्मको सुरुवातमा 'सत्य घटनाबाट प्रेरित' भन्ने वाक्य लेखिएको छ। तर, फिल्म हेरेपछि धेरैले असलियत थाहा पाए। सुरुमै केही भारतीय निर्माता निर्देशकको नाम उल्लेख गर्दै आभार प्रकट गरिएको छ। तैपनि कुन फिल्मको रिमेक हो भन्ने चाहिँ खुलाइएको छैन। निर्माता–निर्देशकले नलेखे पनि 'मञ्जरी' सन् २००८ को बंगाली फिल्म 'चिरोदिनी तुमी जे अमर'को अनाधिकृत रिमेक हो भन्ने थाहा पाउन दर्शकलाई गाह्रो परेन। किनभने अचेल निर्देशकभन्दा दर्शक कैयौं गुणा चलाख र 'अपडेटेड' छन्।
सिलिगुडी र कोलकाताको परिवेशमा बनेको 'चिरोदिनी तुमी जे अमर' फिल्म आफैं पनि मौलिक होइन। सन् २००४ को तामिल फिल्म 'काढल'को रिमेक हो यो। 'काढल'लाई सन् २००७ मा कन्नड भाषामा 'चेलुभिना चित्तारा' नामले पनि रिमेक गरिसकेको छ।

'मञ्जरी'का निर्माता–निर्देशकले आफ्नो फिल्म भारतमा थोत्रो भइसकेको पटकथामा आधारित भनेर कतै खुलाएका छैनन्। यो एकप्रकारको ठगी नै हो। जब आफू नै इमान्दार हुनसक्दैनन् भने निर्देशकले दर्शकलाई के सिकाउने? फिल्म निर्देशकलाई बौद्धिक व्यक्तिको रुपमा इज्जत दिइन्छ। किनभने उसले समाजलाई अरुलेभन्दा फरक आँखाले हेर्छ। 'क्रियटिभिटी' उसको बलियो हतियार हुनेगर्छ। 'मञ्जरी'का निर्देशक गणेशदेव पाण्डेले चाहिँ न त कुनै फरक दृष्टि पेश गरेका छन् न दुनियाँमा 'क्रियटिभिटी' भन्ने शब्द हुन्छ भन्ने नै स्विकारेका छन्।

'मञ्जरी' बनाएर यसका निर्माता निर्देशकले ३५–४० लाख रुपैयाँको झुठ बोलेका छन्। जतिसुकै महँगो भए पनि झुठ भनेको झुठ हो। दर्शकले कहिल्यै माफी दिनेछैनन्। यसका निर्माता–निर्देशकले आफू कुन हैसियतको फिल्मकर्मी हो, उदांगो पारेका छन्।

'मञ्जरी'ले चोरेको 'प्लट' पनि कुनै अद्वितीय वा संसारमै उदाहरणीय मानिएको कथा होइन। गरिब केटा र धनी केटीबीचको घिसिपिटी प्रेम नै यसको कथा हो। बुटवलमै योभन्दा मार्मिक कथा भेटाउन सकिन्थ्यो। यसतर्फ निर्माता–निर्देशकले किन जाँगर नचलाएका हुन्? बु‰नुपर्ने कुरा के हो भने, नेपाली फिल्मकर्मीले कथा खोज्ने नेपालमै हो, भारततिर होइन। नभनिएका कथाहरु हामीसँगै थुप्रै छन्। कुनै विदेशी फिल्मकै रिमेक गर्नुपर्ने अनिकाल यहाँ सुरु भइसकेको छैन।

आफ्नो समाजको कथालाई मौलिक शैलीमा भन्नु निर्देशकको दायित्व हो। निर्देशकको मौलिक शैली भनेको उसले निर्माण गर्ने दृश्य भाषा हो। यसका लागि निर्देशकले सट साइज, क्यामेरा एंगल, रिदम र एडिटिङमा आफ्नोपन झल्काउन सक्नुपर्छ। 'मञ्जरी'मा यी सबै पक्ष बंगाली फिल्मबाट जस्ताको तस्तै साभार गरिएको छ। बंगाली निर्देशकले भन्दा फरक एंगल प्रयोग गर्ने क्षमता पनि निर्देशक पाण्डेमा देखिएको छैन।

सन् २००४ मा दक्षिण भारतको एउटा सानो सहरको पात्रको मनोविज्ञान र अहिलेको बुटवलको पात्रको मनोविज्ञान उस्तै हुँदैन। निर्देशक पाण्डे यो अन्तर केलाउन पनि चुकेका छन्। दोस्रो जनआन्दोलनपछि नेपाली समाजमा शैक्षिक चेतना र महिला अधिकारमा ठूलै जागृति आइसकेको छ।

बुटवल सहरको एउटा धनाढ्य, प्रतिष्ठित र कथित ठूलो जातको परिवारमा स्कुल पढ्दै गरेकी १६ वर्षे छोरी मञ्जरी (सुजाता कोइराला)लाई बिहे गर्न जबरजस्ती गरेको दृश्य पत्यारलाग्दो छैन। कुनै ठूलो कारण नभई यस्तो रुढीवादी कदम अचेल विरलै चालिन्छ होला। नेपाली समाजमा आएको परिवर्तनलाई सम्बोधन गर्न नसकिएको हो यो।

ईश्वर(गौरव पहाडी)लाई टोलवासीका अगाडि निर्घात कुटपिट गरिन्छ। दण्डहीनतामा गाँजिएको नेपाली समाजमा त्यस्तो दादागिरी त चल्नसक्छ। तर, त्यसप्रतिको प्रतिक्रिया पनि कम दमदार हुँदैन। राजनीतिक दल, जातीय संस्था, मानवअधिकारवादी जत्था र मिडिया जस्ता संस्थाहरुले त्यस्तो खुला गुन्डागर्दीलाई ठूलै मुद्दा बनाउँछन्। भारत र नेपालको ठाउँ र समयको अन्तरलाई चिन्न नसकिएको प्रमाण यो पनि हो। ईश्वरमाथि धोका दिँदै कुटपिट गरिएपछि ईश्वर आफैं वा उसका साथीभाइ–परिवार चुप लागेर बस्दैनन् होला। फिल्मको कथाले यो कौतुहलतालाई त्यतिकै छोडेको छ। जबकि मुख्य पात्रमाथि भएको सबैभन्दा ठूलो विपद नै यही हो।

गौरव र सुजाता दुवैले नेपाली फिल्ममा 'फ्रेस अनुहार'को मेनु बढाउने काम गरेका छन्। 'रियलिस्टिक एक्टिङ' पस्किन उनीहरु सफल देखिन्छन्। टिका पहाडी, विष्णु रिजाल, सुजन थापा र रेशम फिरिरीको अभिनय पनि सराहनीय छ। जमानामा 'चाँदनी' र 'मोहनी लाग्ला है' जस्ता फिल्ममा हिरो बनेर हराएका विष्णुको 'कमब्याक' आनन्ददायी लाग्छ।

परम्परागत ब्याकग्राउन्ड म्युजिक र इफेक्टले फिल्ममा 'साउन्ड पोलुसन'को महसुस हुन्छ। तीन वर्षपछि ईश्वरलाई देख्दा मञ्जरीले गरेको रुवाबासी, भित्ताका फोटो देखेर मञ्जरी लजाएको, केटी आएको थाहा पाएर केटाहरुले हैरान पारेको र टिका पहाडीले श्रीमती र भाइबुहारीलाई बेल्टले पिटेको जस्ता दृश्य अतिरञ्जित छन्।

'मञ्जरी'को 'जादू' बोलको गीत हिन्दी फिल्म 'शोर इन द सिटी'को 'साइबो' गीतको 'स्लो भर्सन'जस्तो सुनिन्छ। संजोगवश गीत मिल्न गएको भए पनि फिल्मकै कथा आयात गरिएकोले संगीतकारलाई पनि चोरीको आक्षेप लगाउन धेरैलाई सजिलो भएको छ। यस्तो सम्भावनाप्रति स्रष्टा सजग हुनुपर्छ।

फिल्म बनाउनुअघि लामो 'मेन्टल प्रोसेस'बाट गुजि्रनुपर्छ। अध्ययन, चिन्तन, छलफल, अनुसन्धान आदि प्रक्रियाबाट गुजि्रएको भए 'मञ्जरी' टोलीले तामिल फिल्म 'काढल'को भन्दा राम्रो कथा बुटवलमा भेट्नसक्थ्यो। निर्देशक गणेशदेव पाण्डेको 'क्रियटिभ इनर्जी'माथि पनि यति धेरै प्रश्न उब्जिदैनथ्यो।
समिक्षकः दीपेन्द्र लामा

फिल्मः मञ्जरी

रेटिङः पाँचमा दुई तारा

निर्देशक/लेखकः गणेशदेव पाण्डे

निर्माताः महेश चालिसे

कलाकारः गौरव पहाडी, सुजाता कोइराला, टिका पहाडी, विष्णु रिजाल, सुजन थापा, रेशम फिरिरी आदि।

Thursday, May 9, 2013

मैना : अब्बल कथा, मध्यम प्रस्तुति

२०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा माओवादीले थालनी गरेको सशस्त्र जनयुद्धका कारण नेपाली जनताले अथाहा पीडा भोग्नुप-यो । १५ हजारभन्दा धेरै सपुतले ज्यान गुमाए । हजारौं अंगभंग भए । बेपत्ता हुनेको संख्या पनि उत्तिकै छ । शान्तिप्रक्रिया सुरु भएको पाँच वर्ष बितिसक्दा पनि युद्ध अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउन सकिएको छैन । बरु निहत्था जनतामाथि गरेको अत्याचार र दमनको पुरस्कारस्वरूप कोही मन्त्री बनेका छन् त कोही बढुवा भएर जर्नेल, कर्णेल र आईजीपी भएका छन् । भलै युद्ध अपराधीलाई कारबाही गर्नुपर्ने माग अझै मत्थर भएको छैन । यही मेसोमा निर्देशक केपी पाठक पनि चलचित्र ‘मैना’मार्फत युद्ध अपराधीविरुद्ध बुलन्द आवाज लिएर आएका छन् । यो चलचित्रमा निर्देशक पाठकले द्वन्द्वकालमा तत्कालीन शाही नेपाली सेनाद्वारा चरम यातना र बलात्कारपछि हत्या गरिएकी काभ्रे खरेल थोककी १५ वर्षीया निर्दोष बालिका मैना सुनुवारको कथालाई जस्ताको तस्तै उतार्ने प्रयास गरेका छन् । जसले चलचित्र हेर्ने हरेक दर्शकलाई एकपटक संकटकालमा भोगेको त्रासदीको सम्झना गराउँछ ।
२०६० साल फागुन ५ गते तत्कालीन शाही नेपाली सेनाको एउटा जत्था काभ्रे खरेलथोककी स्थानीय महिला अगुवा देवी सुनारलाई पक्रन उनको घर पुग्छ । देवीको कसुर भनेको उनकी दाजुकी छोरीलाई सेनाले बिना कसुर पक्रेर बलात्कारपछि हत्या गर्छ । त्यसैले उनले पत्रकार र मानवअधिकारवादीसमक्ष पु-याएर घटना सार्वजनिक गर्न सहयोग पु-याउँछिन् । तर यो कुरा सेनालाई सेह्य हुँदैन । त्यसैले माओवादीको आरोपमा उनलाई पक्रन काभ्रेको खरेलथोक पुग्छ । तर, देवी माइतबाट फर्केकी हुन्नन् । त्यसपछि सेनाको आँखा देवीकी छोरी मैनामाथि पर्छ र मैनालाई लछारपछार गर्दै घरबाट लैजान्छ । अर्कोदिन मैनाको बाबुआमा ब्यारेक पुग्दा पक्राउ नै नगरेको जवाफ दिन्छ । त्यसपछि छोरीको खोजीमा देवी प्रहरीदेखि जिल्ला प्रशासनसम्म धाउछिन् । तर कुनै अत्तँेपत्तँे पाउँदिनन् । तैपनि थाक्दिनन् र दुईवटा नाबालक बच्चालाई घरमा छोडेर श्रीमान्लाई लिएर काठमाडौं आउ“छिन् । यहाँ आएपछि उनले पत्रकार र मानवअधिकारवादी संघसंस्थासम्म पुगेर छोरीको खोजी गरिदिन अनुरोध गर्छिन् । जसबाट घटना सार्वजनिक गर्न चौतर्फी दबाब बढ्छ । बल्ल सेना मुख खोल्न बाध्य हुन्छ र भन्छ– मैनाको हत्या भइसकेको छ । त्यसपछि मैनाको शव–उत्खनन गर्ने र दोषीलाई कारबाही गर्ने प्रक्रिया बढ्छ । सेनाले आफ्ना एक अधिकृतलाई विभागीय कारबाही गरेजस्तो पनि गर्छ । तर, अझ पनि दोषीलाई अपराधअनुसारको कारबाही हुन सकेको छैन ।
‘मैना’को मुख्य कथा यति हो । जुन बनावटी र मनगढन्ते घटनाहरूबाट मुक्त छ । खरेलथोकस्थित मैनाको घर र विद्यालयमै छायांकन गरिएकोले पनि सिनेमा अझ जीवन्त बनेको छ । ‘मैना’को भूमिकामा देखिएकी अनिता केसीको अभिनय तारिफयोग्य छ । त्यस्तै, देवीको भूमिकामा देखिएकी राधा श्रेष्ठ र मैनाकी बाबु बनेका गोविन्द प्रभातले पनि जीवन्त अभिनय गरेका छन् । तर अन्य केही सहायक पात्र, खासगरी रीना रसाइलीकी आमाको अभिनय भने बनावटीझैं लाग्छ । जसले दर्शकको एकाग्रता भंग गर्ने डर हुन्छ । सायद व्यावसायिक कलाकार नभएकोले पनि निर्देशकले चाहेअनुसारको अभिनय गराउन नसकेका हुन सक्छन् ।
छायाकार जीवनाथ सुवेदीले अनावश्यक ‘जुम इन र आउट’बाट सिनेमालाई जोगाएका छन् । जसबाट सिनेमा अझ सजीव बनेको छ । मैना सुनुवारले नै लेखेकी ‘अहिले हामी साना छौं’ बोलको गीतले हरेक दर्शकको मुटु बिझाउँछ । रामेशको संगीतले मैनाको शब्दको न्याय गरेको छ । नयनराज पाण्डेले पात्रहरूलाई क्लिस्ट बोल्नुपर्ने झन्झट दिएका छैनन् । दैनिक जीवनमा मानिसले प्रयोग गर्ने शब्द, भाषा र शैलीमै पटकथा तयार पारिएको छ । यी सबै कुराले ‘मैना’लाई आर्टिफिसियलभन्दा पनि नेचुरल सिनेमा बनाएको छ ।
कतिपयलाई यो सिनेमा एकपक्षीय लाग्न सक्छ, जुन स्वाभाविक पनि हो । किनभने यहाँ सेना वा राज्य पक्ष्ँको बर्बरतामात्र देखाइएको छ, विद्रँेहीका अत्याचार र दमनबारे सिनेमा मौन छ । तर यथार्थ यस्तो होइन । किनभने ‘मैना’ विषय प्रधानभन्दा पनि घटना प्रधान चलचित्र हो । यो दसवर्षे जनयुद्धको सजीव चित्रण होइन् । यसले त सिर्फ युद्धको समयमा सरकारी सेनाद्वारा हत्या गरिएकी एक निर्दोष बालिकाको कथालाई ‘हुबहु’ प्रस्तुत गरेको छ । त्यसैले यहाँ विद्रँोही पक्ष्ँको कमजोरी खोजिनु सान्दर्भिक हुँदैन । बरु यो सिनेमाले राज्यलाई जनताप्रति जवाफदेही र न्यायिक हुन एक खालको दबाब सिर्जना गर्दछ ।
‘मैना’को कमजोरी भनेको धमिला दृश्यहरू हुन् । पाँच वर्ष अगाडि नै निर्माण सम्पन्न भएकोले पनि प्रविधिगतरूपमा केही कमीकमजोरी भएको हुन सक्छ । हतारमा छायांकन गर्नु परेकोले सोचेजस्तो राम्रँे बनाउन नसकेको निर्देशक स्वयम्ले स्वीकारेका छन् । यस्ता केही समस्याबाट अछूतो नरहे पनि प्रत्येक सचेत नेपालीले एकपटक हेर्नैै पर्ने चलचित्र हो, मैना । किनभने अरू धेरै ‘मैना’हरू, चाहे राज्यपक्ष्ँबाट पीडित भएका हुन्, चाहे विद्रोही पक्षबाट, ती सबैको कथाव्यथा सिनेमा जस्तो सशक्त र प्रभावकारी माध्यममार्फत बाहिर आउनैपर्छ । अनिमात्र सिनेमा समाजको प्रतिबिम्ब र मार्गदर्शक हुनका साथै स्तरीय मनोरञ्जनको माध्यम बन्छ । जुन अहिले नेपाली सिने क्ष्ँेत्रको टड्कारो आवश्यकता बनेको छ ।
(देशान्तरबाट)

यथार्थ नजिक 'ठेगाना'

 जन्मँदै मूल परेको भन्ने अन्धविश्वासका कारण छोरीको अनुहार नै हेर्न नपाएकी एक अभागी आमाले त्यसका लागि १८ वर्ष कुर्नुपर्ने बताइन्छ । मूल काट्नकै लागि आफ्नै काखकी बच्चीलाई छिमेकी गाउँको गरिब परिवारलाई पालन/पोषणका लागि सुम्पन उनी बाध्य हुन्छिन् । नाबालिकालाई वात्सल्य सुख दिन नपाइरहेकै पीडामा उनले आफ्नी छोरी बेचिएको सुन्नुपर्छ । पाल्न दिइएको परिवारले विदेशीलाई पैसाका लागि बेचिदिन्छ । त्यसपछि बच्चाकी आमा लहडी बन्छिन् । सपनामा बर्बराउूछिन्, विपनामा रित्तो काखको बच्चालाई सुसार गरेको कल्पना गर्छिन् ।
'ठेगाना' पूर्णतः पारिवारिक कथा हो । निर्देशक रामशरण पाठकले नै कथा/पटकथा तयार पारेको फिल्ममा पात्रको मानसिक द्वन्द्वलाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । सन्तान हराएकी आमाको भूमिकामा मिथिला शर्माले वजनदार काम गरेकी छन् । तर उनका संवाद सहितका अभिनय भन्दा बिनासंवादको भावभंगी बढि जीवन्त लाग्छन् । कथा पनि सुरुमा उनकै पक्षबाट सुनाईन्छ । कुनै दिन छोरी अवश्य आउने आशामा ती आमै बाटो हेरेर बसेकी हुन्छिन् । चार वर्षको उमेरमा धर्म सन्तानको रूपमा अमेरिका पुगेकी गौरी थातथलो खोज्दै १४ वर्षपछि स्वदेश फर्किंदा ग्योरी -अनु) बनिसकेकी हुन्छे ।
भौतिक द्वन्द्व नअटाएको फिल्ममा पात्रबीचको मानसिक द्वन्द्वलाई भने यथार्थपरक रुपमा उठान गरिएको
छ । आमाबाबु र जन्मथलो खोज्दै आएकी ग्योरीलाइर्   कुमार -अयुव) ले सहयोग गर्छ । आफुले कीन आमाबाबुको माया पाउन सकिन ? के कारणले त्यति टाढा पठाईयो ? भन्ने जस्ता प्रश्न लिएर ग्योरी स्वदेश आएकी हुन्छे । तर उसले जब आफ्नै आमाबाबुले न्वारनकै दिनमा अर्कैका हातमा सुम्पिइएको बुझेपछि दुःखी बन्छे । आफूमा केही खोट देखेरै आमाबाबुले अस्वीकार गरेको अनुमानकै भरमा ऊ फर्किन खोज्छे तर त्यसो हुँदैन ।
चलचित्र विकास बोर्डबाट विशेष फिल्मको मान्यता पाएको 'ठेगाना' अन्धविश्वासको परम्परालाई उठाउन खोजिए पनि कथामा खासै भिन्न त छैन तर केही पक्षमा भने विशेष छ । फिल्ममा अनावश्यक मारकाट र नृत्यको गलगाँड छैन । प्रकाश संयोजनका हिसाबले पनि फिल्म वास्तविकताको नजिक छ । यसमा पाश्र्व संगीतको कोलाहल छैन । बरु एकतारे बाजादेखि सारंगी र पन्चेबाजासम्मका संगीत फिल्ममा अटाएको छ । जुगल डंगोलको उक्त काम प्रशंसनीय छ । धार्मिक अन्धविश्वास रहेको ग्रामीण परिवेशलाई सेट बनाइएको फिल्मका प्रस्तुतिले पनि त्यसलाई मज्जाले सघाएको छ । नृत्यलाई व्यावसायिकभन्दा वास्तविकता नजिक पुगेर उतार्ने प्रयास गरेका छन्, गोविन्द प्रभातले । अनावश्यक प्रकाशले वस्तुलाई नचम्काएकै भए पनि सुमन तन्डुकारको क्यामेराले खिचेको दृश्यमा कुनै कैफियत छैन ।
फिल्ममा समाजका परम्परागत मान्यतालाई पनि राम्रोसँग प्रस्तुत गरिएको छ । त्यसो त उपत्यकाका कलाकौशल र रीतिरिवाजलाई पनि आकर्षक ढंगले देखाइएको छ । वास्तवमा फिल्म जानकारीमूलक पनि बनेको छ । राजाराम पौडेलको ठट्यौलो चरित्रले स्वस्थ मनोरञ्जन दिएको छ । निर्देशकीय हिसाबले पाठक सफल देखिएका छन् । अभिनयमा पात्रहरु सहज देखिएका छन् । अनुले अमेरिकी शैलीको नेपाली संवाद्मा पनि अभिनय भावलाई खुस्काएकी छैनन् । बरु शुरुदेखिको फिल्मको 'टेम्पो' पछिल्लो अवस्थासम्म आईपुग्दा ढिलो बनेको छ । ग्योरीले सबै वास्तविकता बुझेर पनि आमाबाबुलाई भेट्न नचाहनुको कारणमा बलियो तर्क भेटिँदैन । तर पनि फिल्म 'ठेगाना' बाट निर्देशक पाठकले बलियो सम्भावना भने देखाएका छन् ।
सुशील पौडेल

Friday, April 26, 2013

फिल्म समिक्षा 'धन्दा'

'कलात्मक शैलीको हिंसा

निर्देशक :  सुदर्शन थापा
कलाकार :  अर्पण थापा, समुना केसी, बसन्त भट्ट र कमलमणि नेपाल

पछिल्लो पटक रिलिज भइरहेका नेपाली फिल्ममध्ये 'धन्दा' नौलौ शैलीमा प्रस्तुत भएको फिल्म हो। नँया स्वाद चाहने दर्शकलाई फर्मुला फिल्मबाट घटेर प्रयोगवादी फिल्म बनेको छ। शुक्रबारदेखि रिलिजमा आएको निर्देशक सुर्दशन थापाको 'धन्दा' वैदेशिक रोजगारमा पठाइ दिने आश्वासन दिएर ढगी गर्ने म्यानपावरहरुमाथि केन्द्रित छ। लभस्टोरी फिल्म निर्देशन गरिरहेको सुर्दशनको यो प्रसाय नेपाली फिल्मका लागि सकारात्मक रुपमा लिन सकिन्छ। ग्रामीण भेगको स्कुलमा खेलकुद सिकाउने सामान्य शिक्षक सुन्दर सपना छ। विवाहित उनी श्रीमतीसंगको सुन्दर भविष्यले विदेशिने सोचमा पुग्छन्।
गाँउले मामासंगको संगतले अमेरिका पुग्ने सपनासंगै घर धितो राखेर नौ लाख म्यानपावर कम्पनीलाई बुझाउछन्। पैसा बुझाएको धेरै दिन भइसक्दापनि उनी विदेश पुग्न पाएका हुदैनन्। दलालले उनलाई मार्ने योजनाबाट उनी भाग्यले बाँच्छन।
कलात्मक मेकअप शैलीका कारण निमा लामाले आफ्नो कला प्रस्तुत गर्ने राम्रो अवसर पाएका छन। टाउकोमा रगत जमेर मानसिक सन्तुलन गुमाउने अवस्थामा उनी अस्पतालको बेडमा देखिन्छन। यसपटक अभिनेता अर्पण थापा राम्रा अभिनेतासंगै राम्रा स्त्रि्कप्ट लेखकसमेत हुने भन्ने प्रष्ट भएको छ। उनीद्धारा अभिनित 'धन्दा'ले उनको दुवै क्षमताको पृष्टी गरेको छ। वास्तविक कथामा आधारित धन्दाको सम्पूर्ण काममा उनी हावी देखिएका छन्। परिवारलाई खुसी राख्ने सपना देखेका अर्जुन(अर्पण थापा)को जीवनमाथि 'धन्दा'को कथा तयार भइको छ।

पैसा माग्दा उल्टो अचेत अवस्थामा भर्ना गरिएको उनीको अनुहार र जीउ भर डरलाग्दो घाऊ देखाइन्छ। पहिलो दृश्यमै अर्जुनले अनुहारले दर्शकलाई तर्साउन सक्छ। आफ्ना अनुहारकै कारण परिवारले आफूलाई नस्वीकार्ने पिडाले उनी छटपटिन्छन। त्यहीबाट सुरु भएको फिल्मको अन्तसम्म हिंसात्मक दृश्य समावेश गरिएको छ।  फिल्ममा प्रस्तुत गरिएको संगीतले फिल्मको कथालाई प्रस्ट बनाएको छ। वास्तविक देखाउन हिंसा र रगतले दर्शकलाई तर्साउने दृश्य धेरै छन्। मध्यम वर्णको घृणलाग्दो कोठामा बिताइएको दिन र विगतको कथाले दर्शकलाई भावनात्मक बनाउन सक्छ। अर्जुन फिल्ममा मौन छन। तैपनि उनले गरेको अभिनय उत्कृष्ठ देखिन्छ। राम्रा श्रीमानको भूमिकामा राम्रो रुपमा देखिएका शहरमा भने डरलाग्दो लुक्समा देखिन्छन्।

शरीरभर टाँका लगाइएका घाउ बोकेर अर्पणले  बोलीबिनानै एकपछि अर्कालाई मारिरहेका हुन्छन।  उनी कहिलेकाँही विगत सम्झदाँ पत्नी (समुना) सँगको प्रेमालाप र बाबुसँगको सम्बन्धमा पनि सहज देखिइएको छ। व्यस्त सडकमा हत्या हुँदा र अस्पतालबाट भागेका घाइते प्रहरीकै निगरानीमा परेको कुरा फिल्ममा समावेश छैन। रगतको दृश्यमाथि सेन्सरले खासै कैची लगाउन नसकेको छैन। यहाँ फिल्मको कोरियोग्राफीमाथि खासै गृहकार्य नगरिएको देखिन्छ। अर्पणको हत्याको प्रयास गर्दा बोरामाथि खुकुरीले हानेको देखाइएपनि बोरा च्यालिएको समेत छैन। चम्चाकाँटाले घाटीमा सिरेर मानिस मारेपछि पनि हल्मेटले काँटालाई ठोक्ने दृश्य अत्याधिक हिंसात्मक मानिन्छ। फिल्म हेर्ने जान दर्शकलाई प्रोमो र पोष्टरले प्रोत्साहन दिन्छ। 'धन्दा'को पोष्टर र प्रोमोले दर्शकलाई फिल्म हलसम्म डोर्‍याउन सकेको छैन। थि्रलर भनिएपनि सुरुकै केहि दृश्य हेर्न मिस भयो भने फिल्म
बुझ्न सकिन्न्। विषयवस्तु समसामयीक र सन्देशमूलक छ। अभिनयहरु बेजोड र स्वभाविक लाग्दछ। फिल्ममा हिंसा हेर्न नसक्ने तथा बालबालिकाले चाहिं धन्दा नर्हेनु राम्रो हो। हिंसाको अत्याधिक प्रयोग फिल्मको खड्किन पाटो बनेको छ। हिंसालाई बढी कलात्मक ढंगबाट प्रयोग गर्न खोजेको भए फिल्मको कलात्मक पक्ष अझ दरिलो बन्ने थियो।

फिल्म समिक्षा: स्काईफल (अंग्रेजी)

कलाकार : डेनियल क्रेग, नाओमी हेरिस, जेवियर बर्डम, जूडी डेन्च
निर्माता : माइकल जी. विल्सन, बारबरा ब्रोकली
निर्देशक : स्याम मेन्डिस
गीत : थोमस न्यूम्यान
अवधि : १४२ मिनेट
फिल्मको प्रकार: एक्सन
रेटिंग : ४.५। ५   

ब्रिटेनमा रिलीज भएको बोन्ड सीरीजको यस नयाँ फिल्मले बक्स अफिसमा आफ्नो कमाइको रेकर्ड बनाएको छ । संसारभरमा यस फिल्मलाइ धेरै दर्शकहरूको क्रेज देखेर ट्रेड एनालिस्टहरूले ७५० करोडमा बनेको यस फिल्मले २,००० करोड भन्दा धेरै व्यापार गर्ने भविष्यवाणी गर्न थालेका छन् ।

करीब ४३ बर्षका डेनियल क्रेगले यस पटक फेरी बोन्डको भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । यो देखेर ती आलोचकहरूको मुख बन्द भएको छ, जसले बोन्डको भूमिकाका लागी क्रेगको ठाउँमा कुनै नयाँ युवा अनुहार ल्याउनु पर्ने वकालत गरिरहेका थिए ।

यस फिल्ममा क्रेगले डरलाग्दो, मुटुनै हल्लाउने एक्शन दृश्यहरू दिएका छन् । साथै उनका इमोशनल सीनहरू देख्दा उनका प्रसंसकहरूले यस सीरीजको आगामी फिल्ममा पनि क्रेगलाइनै हेर्न चाहन्छन् । यस फिल्मका निर्माताले तिव्र गतिमा चलिरहेको ट्रेनमा छायाँकन गरिएको दृष्यहरू देखाइएको छ । यस फिल्मका डाइरेक्टर स्याम मेन्डिसको तारिफ गर्नै पर्दछ किनभने उनले संसारमा पहिले देखिनै पहिचान बनाइसकेका बोन्डको भूमिकालाइ फेरी एक पटक संसार सामु ल्याएका छन् । तपाइँले सिनेमाहलबाट बाहिर निस्केपछि पनि ब्रास ब्याण्ड टीमको साथमा तयार गरिएको ब्याकग्राउण्ड म्यूज़िक, ट्रेन एक्शन र बाइक रेसिङको सीन याद गरिरहनु हुनेछ ।

कथा: बोन्डलाइ एक पटक चारैतिरबाट समस्यामा परेको आफ्नो एजेन्सी एमआई -६ र आफ्नो रिसाह बोस एम (जूडी डेन्च) लाइ बचाउनु पर्नेछ । आफ्नो ड्यूटी प्रति पुरै इमान्दारीता पनि देखाउनु पर्नेछ । एक सीक्रेट अपरेशनमा एमको कारणले बोन्ड आफ्नो एक साथीको गोलीको शिकार हुन्छन् । यस पछि बोन्ड मारिएको समाचार फैलन्छ । यो समाचार फैलिएपछि बोन्डको एजेन्सी एमआई -६ लाइ साइबर टेररिस्ट सिल्वा (जेवियर बर्डम) ले बरवाद गर्नमा लाग्दछ । अर्को तर्फ बोन्ड आक्रमणमा गम्भीर रूपले घाइते भएका थिए र अब उनी ठीक भएर एक पटक फेरी दुश्मनहरूसंग सामना गर्नका लागी फेरी फर्कन्छन् ।

अभिनय: डेनियल क्रेगले बोन्डको भूमिकामा एक पटक फेरी आफ्नो उत्कृष्ट अभिनयलाइ जिविज पारेका छन् । डेनियलको यस बदलिएको शैलीका कारण उनका आलोचकहरूले पनि सयद यस सीरीजको अर्को फिल्ममा पनि उनलाइ हेर्न चाहनेछन् । भिलेन सिल्वाको भूमिकामा जेवियर यस पटक भने केही सहज देखिएका छन् । यस नयाँ शैलीमा उनी निकै जमेका पनि छन् । जूडी यस पटक इमोशनल दृश्यहरूमा खरो उत्रिएकी छन् । नाओमी हेरिसको बोन्डका साथ लव मेकिङ सीनमा उत्कृष्ट केमिस्ट्री रहेको छ ।

डाइरेक्शन: स्याम मेन्डिसले स्क्रिप्टका साथमा शत प्रतिशत न्याय गरेका छन् । क्रेगमाथि छायाँकन गरिएका एक्शन दृश्यहरूमा स्यामको मेहनत देखिएको छ । फिल्मको शुरू देखि लिएर क्लाइमेक्स सम्मनै फिल्मले दर्शकहरूलाइ बाँधेर राख्न सफल भएको छ । पुरा फिल्मभरीनै दर्शकहरूले केही सोच्ने मौका समेत पाउँदैनन् । मकाऊ, इस्तान्बुल र लण्डनको लोकेशनमा स्यामले क्यामराम्यानसंग राम्रो काम लिएका छन् ।

किन हेर्ने: यदि तपाइँले जेम्स बोन्ड सीरीजको अघिल्ला फिल्महरू नहेरेको भए पनि यो फिल्म हेर्दा राम्रो हुन्छ । यदि तपाइँ बोन्डको प्रसंसकनै हुनुहुन्छ भने त यो फिल्म तपाइँका लागी निकै महत्वपूर्ण छ । बोन्डमाथि फिल्माइएका उत्कृष्ट एक्शन, स्टन्ट सीन, उत्कृष्ट फोटोग्राफी, राम्रा लोकेशन सहित फिल्ममा हेर्ने यस्ता धेरै कुराहरू छन्, जुन कुराहरू तपाइँ हलबाट निस्केपछि पनि याद भैरहन्छन् ।

फिल्म समिक्षा : काठमाण्डू –मिरर इन द स्काई

             ‘काठमाण्डू : मिरर इन द स्काइ’सँग मेरो भावनात्मक सम्बन्ध छ । यो फिल्म जसमाथि बनेको हो, ती स्पेनिस
महिलासँग गतिलै चीनजान छ । प्रहरीद्धारा निर्घात कुटपिट गरिएपछि नर्भिक अस्पतालको वार्डमा उपचार गराइरहेकी उनै भिक्टोरिया सुविरानासँग तीन वर्षअघि मेरो पहिलो भेट भएको थियो । अन्ततः सर्वोच्च अदालतले उनको पक्षमा फैसला ग-यो र स्पेनले फिल्म बनायो । म जतिबेला ‘यो साता’ साप्ताहिकमा काम गर्थेँ । अहिलेपनि उनी भिक्टोरिया आफ्ना पति, नेपाली कानुन र यहाँको सिस्टमसँग लडिरहेकी छिन् । ग्राजुएट गरेका उनका छोराछोरी अहिलेपनि नागरिकताविहिन छन् । स्पष्ट भन्नुपर्दा, जति नजिकबाट मैले भिक्टोरियालाई चिनेको थिएँ, उति नै भिक्टोरियामाथ बनेको यो फिल्मले ममा कुनै प्रभाव पार्न सकेन । किनभने स्टोरी टेलिङ भनेको पृथक कुरा हो ।
मेरो समिक्षा : चलचित्र (काठमाण्डू-मिरर इन द स्काइ)
रेटिङ : २ तारा
स्टार कास्ट : भेरोनिका इचुगुई, सौम्यता भट्टराई, नोर्बु छिरिङ लामा
राम्रो के छ : भेरोनिकाको बहुचरित्रकरणयुक्त (मल्टिडायमेन्सन) अभिनय, सिनेम्याट्रोग्राफी र हल्का दर्शकीय मनोविज्ञान
नराम्रो के छ : द्वन्द्वमै आधारभूत समस्या । इन्गेजमेन्ट, औपन्यासिकता र भावनात्मक सम्प्रेषणको अभाव । ड्रामा हावी । भिक्टोरिया सुविराना (न्यारेटर)को बायोपिक रुपान्तरणमै समस्या ।
लु ब्रेक : जतिबेला पनि ।
हेरम कि नहेरम : अवश्य पनि हेरम साथीहरू । नेपाली समाजलाई नजिकबाट नियाल्न हेर्न जरुरी छ । हेर्नुभएन भने राम्रो फिल्म गुमाउनुहुनेछ । याद रहोस, यो फिल्ममा रेखा थापाको जस्तो मसाल चाहिँ मिसाइएको छैन । यो डार्क फिल्म हो ।

शान्ति प्रक्रिया नभाँड्ने 'बधशाला'

          सेना पक्षले प्रतिबन्धै लगाउन खोजेको फिल्म 'बधशाला' रिलिज हुनु अभिव्यक्ति स्वतन्त्रताको जित हो। एउटा फिल्मकर्मीलाई जुनसुकै विचारधाराबाट प्रेरित भई फिल्म बनाउने छुट हुँदाहुँदै धेरैले शंका गरे, फिल्म कतै माओवादीको पक्षमा त छैन। जबकि, कुनै पनि विषयमा बनेको अतिरञ्जित फिल्मलाई कसरी सामना गर्नुपर्छ भन्ने विवेक नेपाली दर्शकमा छ। सेना पक्षले यही विवेकशीलताको अवमूल्यन गर्न खोज्यो।
सहरका भित्ताहरुमा परेड खेलिरहेको बर्दीधारी पोस्टर हेर्दा 'बधशाला'ले सेनाको गौरवगाथा गाउँछ कि भन्ने लाग्छ। फिल्मले चाहिँ कसैको गुणगान गाउँदैन। अँध्यारो खोरमा थुनिएका बन्दी र तिनलाई केरकार गर्ने सैनिकबीचको मानसिक टकरावमा उभिएर फिल्मले द्वन्द्वकालको एक झल्को दिन्छ। बन्दी र सैनिक दुवैलाई आफ्ना आदर्श वाक्यहरु फालाक्न लगाइएको छ। तर यो 'वक्तृृत्वकला'मा कसैले कसैलाई पराजित गर्दैन।
विषयवस्तु र शीर्षकअनुसार 'बधशाला'मा हिंसा छ। तर हिंसा देखाइए पनि यो हिंसाविरोधी फिल्म हो। सेनाले आरोप लगाएजस्तो शान्ति प्रक्रिया भाँड्ने खालका दृश्यहरु यसमा छैनन्। प्रचण्डको 'टेप प्रकरण'ले नभाँडिएको शान्ति प्रक्रिया एउटा फिल्मले कहाँ भाँडिन्छ र?
माओवादी र सेना दुवै पक्षका लडाकुहरुको बौद्धिकता र हार्दिकताको गुणस्तरलाई फिल्मले कोट्याएको छ। एक उच्च सैनिक अधिकृतको हत्यारा पत्ता लगाउने सेनाको उद्देश्यवरिपरि फिल्म घुम्छ, जसले गर्दा सैनिक र बन्दीबीचको द्वन्द्वलाई राजनीतिक होइन कानुनी तहमै सीमित पार्न निर्देशकलाई सजिलो भएको छ।
फिल्ममा लगभग सबै कलाकार रंगमञ्च पृष्ठभूमिका छन्। उनीहरुको स्वाभाविक अभिनयले फिल्मको स्तर बढाएको छ। आफूले निर्वाह गरेका पात्रलाई जीवन्त बनाउन उनीहरु चुकेका छैनन्। एउटा द्विविधाग्रस्त र विचलित सैनिक जवानको भूमिकाप्रति दयाहाङ राईले न्याय दिएका छन्। शिक्षक बन्दी बनेका खगेन्द्र लामिछानेलाई एक आशालाग्दो कलाकारका रुपमा लिन सकिन्छ। मेजरको भूमिकामा अनुप बरालको व्यक्तित्व सुहाएको छ।
फिल्मको संवाद तारिफयोग्य छ। धेरैजसो संवाद पात्रहरुले आत्माबाट सम्प्रेषण गरेझैं लाग्छ। पात्रका स्तरअनुसार संवाद र संवादको स्तरअनुसार मुड सिर्जना गरिएको छ। 'टेन्सन' पैदा गरी फिल्मलाई गतिशील बनाउन सफल छ संवाद।
बन्दी र सैनिकबीचको मानवीय सम्बन्ध दयाहाङ र खगेन्द्र तथा अनुप र सौगातबीचको दृश्यमा मर्मस्पर्शी ढंगमा उजागर भएको छ। सधैं आँखामा पट्टी बाँधिए पनि बन्दी खगेन्द्रले सैनिक जवान दयाहाङलाई आफू नजिक आउँदा चिनिहाल्छ। दयाहाङलाई खुल्दुली लाग्छ, 'कसरी चिन्यौ?' खगेन्द्रले नडराई जवाफ दिन्छ, 'तपाईं आउँदा सूर्तिको बास्ना हरर्र फैलिन्छ।' त्यसरी सुरु हुने दयाहाङ र खगेन्द्रको सूर्ति-साइनो मार्मिक त छ नै, यही नै कथाको निर्णायक 'इलेमेन्ट' बनिदिन्छ।
मेजर अनुपले माओवादी छापामार सौगातसँग आफ्नो कक्षमा गरेको चिया-वार्ताले फिल्म इज्जतिलो बनेको छ। यो दृश्यलाई 'लङ टेक'मा प्रस्तुत गरेर निर्देशकले दुई पात्रको संवेदना र स्वाभिमानलाई स्वतन्त्र पोखिन दिएका छन्। चलनचल्तीको भन्दा धेरै लामो यो 'सट' कलात्मकताको सराहनीय नमुना हो। फिल्मले फेरेको यो 'लामो सास'ले धेरै मानसिक थकान दूर गर्छ।
फिल्मका पात्रहरुलाई सकेसम्म रोचक बनाउन खोजिएको छ। सेना पक्षका अनुप, दयाहाङ, अर्पण, पुष्कर र आशान्तका संवेदनाको ग्राफ फरकफरक छ। आशान्तका हरकतले ह्युमर उत्पन्न गराउँछ तर उनको उपस्थितिलाई कथामा गाँठो पार्न सकिएको छैन।
फिल्मको पूर्वार्द्धमा दृश्यहरु दिशाहीन जेलिएको छ। यातना दिएका एउटै खाले दृश्य दोहोरिन्छ। फिल्ममा कथा र मुख्य पात्र अलि छिट्टै स्थापित गर्दा राम्रो हुन्थ्यो। तैपनि लगातारको 'रिपिटेसन'ले दर्शकमा एकप्रकारको उकुसमुकुस पैदा गरिदिन्छ। कैदीको भोगाइलाई दर्शकले आत्मसात गर्ने अवसर यसले दिन्छ।
अँध्यारो महसुस गराउन उज्यालो पनि देखाउनुपर्छ। 'बधशाला'मा फिल्मभित्रका पात्र र दर्शक दुवैले अभाव महसुस गर्ने भनेको बाहिरी खुला हावा नै हो। फिल्म विधामा 'ओभरएक्सपोजिसन' नराम्रो हो। तर 'बधशाला'मा त विषयवस्तुको 'ग्य्राभिटी'अनुसार 'एक्सपोजिसन' नै पुगेको छैन।
ह्युमरको भरपूर खुराकले यो फिल्म न्यास्रो हुनबाट जोगिएको छ। पात्रहरुलाई पिडा हुँदा पनि दर्शकलाई हाँसो लाग्नसक्छ। हाँसो र पिडा मिसिएको डार्क कमेडीको हल्का अभ्यास हो यो।
नेपाली फिल्ममा हुने 'लाइट पोलुसन'बाट 'बधशाला' मुक्त छ। आवश्यक नहुँदा पनि उज्यालो खेर फाल्नु 'लाइट पोलुसन' हो। तर, यसमा 'लाइटिङ'को डिजाइन कलात्मक छ। मुडअनुसार अँध्यारो, मधुरो र पारिलो प्रकाश छ्यापिएको छ। फिल्मको छायांकन पनि विषयको संवेदनशीलतासँग एकाकार छ।
अन्तिम दृश्यको 'कन्स्ट्रक्सन' तुलनात्मक रुपले फितलो देखिन्छ। यस दृश्यमा पात्रहरुको संवाद र क्रिया अपरिपक्व लाग्छ। जबकि यो महŒवपूर्ण दृश्य अरुभन्दा सुगठित हुनुपर्थ्यो।
विषय सुन्नेबित्तिकै खर्चिलो हुन्छ भनेर पन्छिने फिल्मकर्मीलाई 'बधशाला'ले बाटो देखाएको छ। फिल्म बन्न भौतिक पूर्वाधारभन्दा रचनात्मक कथा, मानवीय संवेदना र स्वाभाविक अभिनय चाहिन्छ भन्ने पुष्टि यसले गरेको छ।
द्वन्द्वकालको कथा भए पनि भीषण गोलाबारुद यसमा छैन। सामान्य गनफाइट पनि छैन। इतिहासको कालखण्डबाट साधारण कथानक कसरी उठान गर्न सकिन्छ? 'बधशाला' एउटा उदाहरण बनेको छ।

समिक्षकः दीपेन्द्र लामा
फिल्मः बधशाला
रेटिङः पाँचमा तीन तारा
निर्देशक/लेखकः मनोज पण्डित
निर्माताः मोहन डोटेल
कलाकारः सौगात मल्ल, अनुप बराल, दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछाने, पुष्कर गुरुङ, आशान्त शर्मा, सरिता गिरी, समुना केसी आदि।

बर्फि जस्तै गुलियो मिठो ! - फिल्म समिक्षा

बलिउडका फिल्ममा नेपाली कलाकारले जतिसुकै सानो भूमिका पाए पनि समाचार ठूलो हुने गर्छ, भलै फिल्म हेरेपछि दर्शक निराश किन हुन नपरोस्। फिल्म नहेरुन्जेल गुरुकुलका रंगकर्मी भोलाराज सापकोटाको अभिनय रहेको 'बर्फी'प्रति पनि निर्धक्क हुने आधार थिएन। फिल्म रिलिज भयो। धन्न, भोलामाथि भलो गरिएको रहेछ।
फिल्मको मुख्य पात्र बर्फी (रणवीर कपुर) बोल्न र सुन्न सक्दैन। बर्फीको लागि प्रेमप
त्र लेखिदिने, बर्फीको दोभाषे बन्ने र बर्फीको विगतको कथा सुनाउने साथीको भूमिका पाएका छन् भोलाराजले। फिल्ममा उनको नाम भोला नै छ। उनले नेपाली लवजमा बोलेको हिन्दी नेपाल र भारत दुवैका दर्शकलाई मिठो र नौलो लाग्नसक्छ।
बर्फी आफैं दार्जिलिङको नेपाली मूलको पात्र हो। एउटा दृश्यमा बर्फीले ढाका टोपी ढल्काउँछ। अरू साधारण पात्रले कतैकतै ऊसँग नेपालीमा संवाद गर्छ। मर्फी ब्रान्डको रेडियोबाट उसको नाम मर्फी राखिएको हुन्छ। परिचय दिने बेला चाहिँ उसको अस्पष्ट जिब्रोले उच्चारण गर्छ, बर्फी।
अधिकांश दृश्य दार्जिलिङकै रहेकोले नेपाली भाषा, ढाका टोपी र मंगोलियन अनुहार ओहोरदोहोर भइरहन्छ। दार्जिलिङको बजार, गाउँ र तराई क्षेत्रका दृश्य यसमा छन्। चियाबगान र छुकछुके सानो रेल छुट्ने कुरै भएन। बंगाली मूलका निर्देशक अनुराग बसुले 'बर्फी'बाट दार्जिलिङलाई ताजा लोकेसन, कथा र पात्रका लागि उर्वर भूमिको रूपमा चिनाउन सक्दो प्रयास गरेका छन्। 
फिल्म समीक्षाः
फिल्म : बर्फी
रेटिङः पाँचमा तीन तारा
पटकथा / निर्देशन : अनुराग बसु
निर्माता : रोनी श्रेवाला र सिद्धार्थ रोय कपुर
कलाकारः रणवीर कपुर, प्रियंका चोपडा, इलियाना डित्रु्कज, सौरभ शुक्ला, भोलाराज सापकोटा, रूपा गांगुली आदि। 
बर्फी र श्रुति (इलियाना डित्रु्कज)बीच दार्जिलिङको हुस्सुलाग्दो पहाडमा माया टुसाउँछ। तर, आमा (रूपा गांगुली)ले छोरी श्रुतिलाई भावुकताको बादलमा नउड्न सम्झाउँछे। एउटा जंगलमा छोरीलाई लैजान्छे र ढाका टोपी लगाएको एउटा अधवैंसे पुरुषलाई देखाएर आफ्नो तुहिएको प्रेमकथा सुनाउँछे। 'प्रेम जीवनमा एकपटक मात्र हुँदैन र बाँच्नलाई भौतिक बन्दोबस्तको पनि ख्याल गर्नुपर्छ' भन्ने आशयमा आमाले छोरीलाई व्यावहारिक जीवनको पाठ पढाएको प्रसंग फिल्मको एउटा मन छुने दृश्य हो।

श्रुति र बर्फीले कतै पनि एकअर्काका लागि आफूहरू सुहाउँदो छैन भन्दैनन्। तर एउटा विन्दुमा पुगेपछि दुवैले यो महसुस गर्न थाल्छन्। एकदिन श्रुतिले रेल चढेर दार्जिलिङ छाडेको दृश्य टुलुटुलु हेर्न बाध्य हुन्छ बर्फी। जबकि अगाडिको दृश्यमा त्यही रेलमा बसेकी श्रुतिलाई भेट्न बर्फीले 'सटकट'मा घुम्तीहरू छिचोलेको थियो। विछोडको बेला बर्फीसँग कुनै उर्जा बाँकी रहँदैन।

यही दृश्यमा खम्बामा ठोक्किएर उछिट्टिएको बर्फीको साइकलको पाङ्ग्राले सपना चकनाचुर भएको विम्ब उतार्छ। निर्देशक बसुले फिल्ममा दृश्य-विम्ब धेरै सिर्जेका छन्। श्रुतिको घरबाट अन्तिमपटक फर्किने बेला बर्फीले बिग्रेको साइकल र नखुलेको छाता च्यापेर बाटो लागेको, सन् १९७८ को समयबाट एउटा सुरुङमा पसेर सन् १९७२ को समयमा श्रुतिको गाडी फर्केको, गोलाकार पिँजडामा सेतो मुसा घुमिरहेको, बर्फी र झिलमिल (प्रियंका चोपडा)ले भित्तामा ऐनाको सहाराले प्रकाशका डोबहरू खेलाएको जस्ता विम्बात्मक दृश्यले कथा, पात्र र परिवेशलाई बुझ्न अझ सहयोग गर्छ।

श्रुति निस्किएपछि बर्फीको घेराभित्र झिलमिल आइपुग्छे। मानसिक समस्या 'अटिज्म'बाट पीडित झिलमिललाई हतपत कसैले सम्हाल्न सक्दैन। ऊ आफूलाई एक्ली ठान्छे। तर, बर्फीसँगको सामिप्यपछि उसको एक्लोपन हराउँदै जान्छ।

फिल्ममा रणवीर र प्रियंकाले चुनौतीपूर्ण भूमिकालाई न्याय दिएका छन्। 'रकस्टार'पछि रणवीरलाई बिल्कुल फरक पाइन्छ। उनले शारीरिक अभिनय लयात्मक 'टाइमिङ'मा पस्केका छन्। चरित्रमा यति डुबेकी छन् कि, प्रियंकालाई लगभग चिन्नै सकिँदैन। जस्तोसुकै भूमिकामा उनी फिट छिन् भन्ने पुष्टि हुन्छ।

'बर्फी' फिल्मले बारम्बार काउकुती लगाउँछ। यसको कमेडीमा अभिनय, टाइमिङ र सम्पादन कलाको तालमेल मज्जाको छ। कमेडीको नाममा हावादारी दृश्यमा पैसा र कल्पनाशीलता खर्च गर्ने रोहित शेट्टीजस्ता निर्देशकहरूको गालामा गतिलो झापड हो यो।

इन्स्पेक्टर (सौरभ शुक्ला) र बर्फीबीचको लखेटालखेटमा टम एन्ड जेरी र ज्याकी च्यानका फिल्महरूको प्रभाव पाइन्छ। रणवीरको अभिनय चार्ली च्याप्लिनबाट प्रेरित हो कि भन्ने लाग्छ। फिल्मको एउटा दृश्यमा झुलुक्क चार्लीको फोटो पनि देखिन्छ।

फिल्मको तारिफयोग्य पक्ष सम्पादन हो। कन्टिन्युटी मिलाएर जोडजाड गर्ने मान्यताभन्दा माथि उठेको छ यसको सम्पादन। सम्पादकद्वय एन्थोनी गोन्जाल्वेस र अकिभ अलीले 'बर्फी'को कथावाचनलाई खँदिलो र असामान्य बनाइदिएका छन्। कौतुहलता, घटनाको गति र लयलाई रचनात्मक सम्पादनले सन्तुलनमा राखेको छ। 

प्रितमले कम्पोज गरेका गीतहरूमा मिठास छ। संवेदनासँग एकाकार गर्दै गीतहरूले कथालाई अगाडि धेकेल्ने जिम्मेवारी पाएको छ। युरोपका भुगोलमा गएर गाउने र नाच्ने खालका बकम्फुस्रे गीत छैनन्। यसका गीत पूरा बज्दैन, वास्तवमा बज्नु पनि पर्दैन। 

फिल्मले ७० को दशकको दार्जिलिङलाई देखाएको छ। त्यतिबेला दार्जिलिङबासीहरू आवाजविहीन नै थिए। गोर्खाल्यान्डको मुद्दा उठेको थिएन। मूक पात्र बर्फीले दार्जिलिङबासीको यही मौनता र सोझोपनलाई प्रतिनिधित्व गर्छ कि? 

निर्देशक बसुको अघिल्लो फिल्म 'काइट्स'भन्दा निकै गम्भीर र उपलब्धिमूलक कृति हो 'बर्फी'। 'लाइफ इन अ मेट्रो'मा कमाएको साखलाई उनले यसपटक ब्युँताएका छन्। 

सबै हिन्दी फिल्ममा गुलियोपन हुन्छ। तर, धेरैजसो अखाद्य र हानिकारक। 'बर्फी'को गुलियो चाहिँ लाभदायक छ, जिब्रो र हृदय दुवैलाई आनन्द दिने। यो फिल्म एउटा मुडमा अघि बढ्छ र त्यही मुडमा सकिन्छ। दार्जिलिङजस्तै शीतल छ मुड।
दीपेन्द्र लामा, नागरिक

नेपाली कथानक चलचित्र "सपनाको" समिक्षा

            सानोमा आमाले राजकुमारको कथा सुनाउँदै गर्दा त्यसैको कल्पनामा मस्त हुने सपना -नन्दिता के.सी ) उमेरले जवानीको रेखा कोर्दै गर्दा पनि त्यही सपना देख्छिन् । सपनामा हेलिकप्टर चढेर आएको राजकुमार जसले उनलाई धेरै राक्षसवाट वचाउँछ अनि लैजान्छ वादलपारीको देशमा । यस्तै, सपना देख्छे सपनाले हरेक रात । सपनाको राजकुमारसँग हराएकी सपनाको सानो देखिएको साथी राज (आर्यन सिग्देल) जो उनलाई भित्र भित्र मनपराउँछ । तर राजले आफ्नो मनको कुरा सपनालाई भन्न सक्दैन ।राजलाई सानैदेखि पालेको कृष्ण (राजेश हमाल) एक युवतीको प्रेममा परेको हुन्छ, तर ती युवतीलाई पनि भन्न नसक्दा कृष्णको सपना पनि...
अधुरै रहेको हुन्छ । सपनाले सपनामा देखेको राजकुमार उनको विपनामा पनि आउँछ, उही गुण्डाको फन्दामा परेकी सपनालाई वचाउन । हेलिकप्टरमा आएको सपनाको राजकुमारले उनलाई सपनामा देखेजसरी नै वचाउँछ र लैजान्छ वादलापारीको देश । दिनेश -अर्जुन कार्की) नाम गरेको त्यो सपनाको राजकुमार विपनामा पनि आएपछि सपनाले उसैसँग विवाह गर्छिन् । सपनाको विवाह पश्चात एक्लो वनेको राजले लन्डनवाट फर्किदै गरेकी एक युवतीलाई भेट्छ । यसरी नै कथावस्तु अगाडि वढ्दै गर्दा सपना विधुवा हुन्छे । हनिमुन मनाउन गएको वेलामा हेलिकोप्टर दुर्घटनामा परेर दिनेशको निधन हुन्छ । दिनेशको निधन पश्चात विछिप्त वनेकी सपनालाई राजले हेरचाह गर्छ र उनको रोग निको पार्छ । अन्त्यमा सपना र राजको विवाह हुने पक्का हुन्छ । तर, राजले सपनाको सिउँदो भर्न मात्र लाग्दा दिनेश हेलिकप्टरमै आउँछ विवाहको मण्डपमा । सपनाको विवाह राजसँग हुन्छ या हुँदैन, कथाले कस्तो मोड लिन्छ आदि बिषयमा जान्नका लागि भने तपाई हलसम्मै पुग्नुपर्ने हुन्छ । काठमाण्डौका हलमा शुक्रवारवाट प्रर्दशनमा आएको चलचित्र सपनाको कथासार यही नै हो । निर्माण भएको लामो समयपछि काठमाण्डौमा हल पाएको यो चलचित्र भित्र धेरै तानवुनाहरु वुनिएका छन् ।

चलचित्रमा हेर्न लायक पक्ष
चलचित्र सपना आम नेपाली चलचित्र भन्दा खासै नयाँ र फरक धारको छैन । उही रोनाधोना, लभ, रोमान्स, कमेडी, द्धन्द अनि गीतसँगीत । नेपाली चलचित्रका पाँच फर्मुला यो चलचित्रले पनि उठान गरेको छ । तर, पनि चलचित्रमा केही त्यस्ता सवल पक्षहरु छन् जसले चलचित्रलाई सशक्त वनाएको छ । चलचित्र सपनाको सवैभन्दा सशक्त पक्ष भनेको यसको गीतसंगीत हो । संगीतकार महेश खड्का यसका लागी वधाईका पात्र नै छन् । हुनत गीतको अडियो अनुसारको दृश्य खासै सम्झनलायक भने छैन । चलचित्रमा प्रयोग गरिएका द्धन्द्वका दृश्यहरुले दर्शकलाई वारम्वार ताली वजाउन झकझकाउँछ । द्धन्द मनपराउने दर्शकका लागि सपना हेर्दा समय रामै्रसँग वित्छ ।

कमजोर पक्ष
यो चलचित्र त्यस्तो कुनै नयाँ चमात्कार वोकेर आएको चलचित्र होईन । नेपाली चलचित्रमा वारम्वार दोहोरिने फर्मुला नै यो चलचित्रको मुख्य धार हो । चलचित्र हेर्दा कतै पनि दर्शकलाई अव के हुन्छ भन्ने लाग्दैन । एउटा दृश्य हेरिसकेपछि अव यो हुन्छ भनेर दर्शकले सहजै अनुमान लगाउन सक्छन् । यो चलचित्र लेखकको कमजोरी हो । चलचित्रमा हेलिकोप्टरको प्रयोग होईन दुरुपयोग गरिएको छ । निर्देशकले हेलिकोप्टर प्रयोग गरेर दर्शकको ताली पाउन खोजेपनि यसको प्रयोग खास ठाउँमा नहुँदा र वारम्वार हुँदा दर्शकलाई खासै नौलो लाग्दैन । चलचित्रमा राजेश हमाललाई नखेलाएको भए के हुन्थ्यो भन्ने प्रश्न चलचित्रले दिन सक्दैन । राजेश हमाल राख्नु र नराख्नुको खासै अर्थ देखिदैन सपनामा । राज अर्थात आर्यन सिग्देलको जीवनमा जे कहानी हुन्छ राजेश हमालको जीवनाम पनि त्यही कहानी हुन्छ । तर राजेश हमालको कथालाई वारम्वार फ्ल्यास व्याकमा पुर्याएर कथालाई लम्व्याउन मात्र खोजिएको छ ।

नायक आर्यन सिग्देल ट्याक्सी ड्राईभर हुन्छन् । ट्याक्सी चलाउँदै गर्दा लन्डनवाट फर्कीएकी एक युवतीसँग भेट हुनु, ती युवतीलाई उनको घरमा पुर्‍याउन जाँदा उनको वच्चाको साथी नन्दिता विधवा हुनु । यो कथा केही वर्ष अघि प्रर्दशनमा आएको चलचित्र अन्दाजसँग मिलेको भान हुन्छ दर्शकलाई । अक्ष कुमारको सानोको साथी लारा दत्त जो हेलिकप्टर उडाउने एक युवकसँग विवाह गर्छिन् । यता, नेपाली सपनामा पनि नन्दिताले हेलिकप्टर उडाउने अर्जुन कार्कीसँग विवाह गर्छिन् । चलचित्रकी अर्की नायिका पि्रयङका चोपडा लाराको नन्द हुन्छिन् । जसरी, यो चलचित्रमा आर्यनसँग भेट हुने नवनायिका ममता गिरी पनि नन्दिताको नन्द हुन्छिन् । पि्रयङका आधुनिक केटी भएजस्तै, ममता पनि यो चलचित्रमा आधुनिक युवती नै हुन्छिन् । लाराको पनि वच्चा देखिनै हेलिकोप्टर उडाउने राजकुमारसँग विवाह गर्ने चाहना हुन्छ जसरी नन्दिताले यो चलचित्रमा सपना वुन्छिन् ।

विधवा लारालाई स्हायार गर्दै अक्षकुमार उनलाई ठिक पार्न लागि पर्छन्, जसरी सपनामा पनि आर्यन विधवा नन्दितालाई स्याहार गर्न दिनरात खटिन्छन् । चलचित्रको सुरुवातमै यसराज व्यानरको लोगोसँग ठ्याक्कै मिल्ने लोगो राखेर तयार पारिएको श्री जेन्टल फिल्मस्को यो चलचित्र हिन्दी अन्दाज चलचित्रसँग धेरै हदसम्म मिल्छ । चलचित्रमा नन्दिताका पति दीपकको निधन भएको देखाईन्छ । तर, अन्त्यमा दीपक पुनः वाचेर र्फकन्छ । तर, दीपक कसरी वाच्यो भन्ने कुरालाई चलचित्रले प्रष्टाउन नसक्दा दर्शकलाई हिरो कहाँ मर्छ र भन्ने भनाईको याद आउँछ । निर्देशक प्रदीप श्रेष्ठ चलचित्र वनाउन खप्पिस नै मानिन्छन्, तर यो चलचित्रमा उनको खासै सम्झmनलायक काम देखिदैन ।

चलचित्रमा ८० लाख लगानी गरीएको भनिएता पनि त्यस्तो खर्च गरेजस्तो कतै पनि देखिदैन । चलचित्रको क्लाईमेक्समा राखिएको द्धन्दका दृश्यमा सिन्क आउट भएको छ । हिरोले हानेको मुक्का लागेको केही समयपछि मात्र आवाज आउँदा द्धन्द खल्लो लाग्छ । चलचित्रका दृश्य धेरै ठाउँमा फोकस आउट छ । यसरी, समग्रमा भन्दा चलचित्र सपना दर्शकका लागि पुरानै फर्मुला वोकेका नयाँ चलचित्र मात्र हो ।

फिल्म समिक्षा 'अपवाद'

         मनसुनको भेलसँग लडिबुडी गर्दै हलमा चलिरहेको छ 'अपवादु' फिल्म । यसमा एउटा त्यस्तो पात्रको आत्मपरक कथावाचन छ, जो जीवनको एउटा भेलमा बगेर समाजदेखि गुमनाम हुन्छ। फिल्ममा त्यत्ति धेरै झरी छैन तर झरीको मुड सुरुदेखि अन्तिमसम्म छ।
सहरका मल्टिप्लेक्समा नेपाली फिल्म हेर्नेको मेला लाग्न थालेपछि थोरै पात्र र सानो खर्चमा बनेको 'अपवादु' रिलिजअघि नै हिट भइसकेको थियो। फिल्म बनाउन पैसा र तामझाम होइन फरक कथा र कलात्मकता चाहिन्छ भन्ने प्रमाणित गर्ने फिल्मको सूचीमा यो थपिएको छ। 
'अपवाद'को कास्टिङमा तीन विदेशी फिल्म 'कास्ट अवे (२००००), इन्टु दि वाइल्ड (२००७),र कास्ट अवे अन दि मुन (२००९), बाट प्रभावित भनेर उल्लेख गरिएको छ। तीनवटै फिल्मको दर्शन हो, मानिस सामाजिक प्राणी हो। बाँच्नको लागि उसलाई समाज चाहिन्छ। यो मर्मलाई ुअपवादुले मर्न दिएको छैन।
मुख्य पात्र सुयोग 'राजवल्लभ'ले जंगलमा विभिन्न घटनामा ग्लानि महसुस गरी जीवनको बोध गर्दै जाने प्रसंगहरू सुन्दर ढंगमा संयोजन गरिएको छ। पहिलोपटक आफैंले आगो बालेको, सुनको बल्छीले माछा मारेको र मकै उब्जाएको दृश्यहरू आनन्ददायी छन्। ती दृश्य धेरै प्रेरणादायी पनि छन्। 
नेपाली फिल्ममा खचाखच हुने घिसिपिटी दृश्यबाट यो मुक्त छ। त्यसैले यो हेर्दा यातना र लाज दुवै हुँदैन। बरु, कहिलेकाहीँ निशा अधिकारी र धेरैजसो ठाउँमा रवि गिरी र विजया गिरीको अभिनयको प्यारामिटरु चर्को लाग्छ।
निर्देशकले किन यसलाई नियन्त्रण गर्न नसकेका हुन्रु नदी तरेर दौडिँदा आइपुगेको खेतले मानवबस्ती सुरु भएको संकेत गजबले दिएको छ। त्यस्तै सुयोगको फ्रेमु हुँदै उड्दै गएको हवाईजहाजले उड्न चाहिरहेको उसको मनलाई कलात्मक ढंगमा प्रतिविम्बित गर्छ। 'ए दौतरी' गीत र ब्याकग्राउन्ड म्युजिक फिल्मको 'इमोसनल ग्राफु अनुसार परिचालित छ।
घर फर्किने बेला नदीमा तैरिएर आफूले शरण लिएको जंगललाई सुयोगले फर्केर हेरेको दृश्य अझै मार्मिक हुनसक्थ्यो। केही महिना बिताएको ठाउँसँगको आत्मीयता झल्काउन दृश्य प्रयोग भएको हो। तर, त्यो ठाउँमा सुयोगले गरेको संघर्ष जटिल छैन। जीवन र मरणको दोसाँध कतै देखिँदैन। भोकको झोकमा रुखमुनि उमि्रएको च्याऊ खान्छ। विषालु हुँदैन। कति सजिलोरु
]
सुयोगले जुन बाटो रोजेको देखाइएको छ, त्यसको लागि फ्रस्टेसनको 'भोल्युमु पुग्दैन। उसका हरकतहरू समाजदेखि विरक्त मान्छेका लाग्छन्। जबकि उसको द्वन्द्व (कन्फ्लिक्ट) समाजसँग नभई बुबा (रवि गिरी)सँग मात्र हुन्छ। समाजका थप अंगहरू कथामा आएको भए सायद उसको विरक्ति बढी विश्वासिलो लाग्थ्यो।
पात्र र कथाको जटिलताभन्दा उल्टो छ फिल्मको लोकेसन। महिनौंसम्म मान्छेको आवतजावत नहुने ठाउँजस्तो देखिँदैन। जंगल घना भनिए पनि किरा र चरामात्र पाइएको देखाइन्छ। नेपालमा तराईभन्दा पहाडको जंगलमा मान्छेको ओहोरदोहोर कम हुन्छ। यसमा तराई त्यो पनि ठूलो खोलानजिकैको वन खिचिएको छ।
त्यही लोकेसनमा पनि बेलाबेला मान्छे आउँदा सुयोगले आफूलाई अरूको नजरबाट लुकाएको जस्ता दृश्य सिर्जिएको भए कनभिन्सिङु त हुन्थ्यो नै, एक्लोपनमै रमाउन चाहने सुयोगको नियत अझ प्रष्टिन्थ्यो। 
साहित्यिक पात्र भएकोले सुयोगलाई लेख्य शैलीको संवाद सुहाएको छ। तर, सबै पात्रले उसको जस्तै व्याकरण मिलाएर बोलेको चाहिँ सुहाउँदैन। यो भनेको बोलीचालीको भाषाको गलत डकुमेन्टेसन हो।
फिल्मको अन्त्य अति नाटकीय छ। पत्रकार सम्मेलनवाला दृश्यको 'फिजिकल रियालिटी' एकदमै कमजोर छ। हास्यास्पद छ। फिल्मको मुडलाई यसले भंग गर्छ। मध्यान्तर लगत्तैको ताइँ न तुइँको गीतले पनि मुड भंग गर्छ। उपयोगी नहुँदा नहुँदै गीत जबरजस्ती ठोसिएको छ।
विदेशी फिल्मबाट प्रभावित भन्दै निर्देशक सुवास कोइरालाले इमानदारी त देखाएका छन्। तर, एउटा सर्जकले आफ्नो समाजप्रतिको दायित्वबाट भाग्न मिल्दैन। सर्जकको दायित्व हो, आफ्नो समाजका बढीभन्दा बढी मौलिक कथा अरूलाई भन्नू। दस वर्षे माओवादी द्वन्द्वकालमा हजारभन्दा बढी बेपत्ता भएका छन्। रहर, कर वा बाध्यताले हराएका मान्छेहरूको कथा यसैमा खोज्न सकिन्थ्यो। अझै सकिन्छ।
कोटेश्वर चोकका रात्रिकालीन रंगीचंगी दृश्यहरूले वङ कार वाईको फिल्म 'माई ब्लुबेरी नाइट्सुको झझल्को दिन्छ। सायद, यसका छायाँकार सुसन प्रजापतिले नोरा जोन्स अभिनित उक्त अंग्रेजी फिल्मको कलात्मक छायांकनबाट प्रभाव ग्रहण गरेको हुनुपर्छ। किनभने निर्माता समेत रहेका सुसनले एउटा दृश्यमा नोरा जोन्सको गीत बजाइदिएका छन्।
अपरिपक्व भए पनि 'अपवादु' अरू फर्मुला फिल्मभन्दा बिल्कुलै ताजा लाग्छ। नेपालमा ,आचार्यु र 'लुटुबाट प्रष्फुटन हुन खोजेको 'न्यु वेभ सिनेमा'लाई यसले थप बल प्रदान गरेको छ। ,अपवादुको कथामा छोरो घर फर्किएजस्तै यस्ता फिल्महरू बन्न थाले हलमा दर्शक फर्किने सम्भावना अवश्य बढ्नेछ।

फिल्मः अपवाद
रेटिङः पाँचमा साढे दुई तारा
निर्देशकः सुवास कोइराला
निर्माताः सुसन प्रजापति
कलाकारः राजवल्लभ कोइराला, निशा अधिकारी, रवि गिरी, विजया गिरी आदि।  
समीक्षकः दीपेन्द्र लामा

Film Samikshya Just Start here you can find nepali film samikshya by various writer

Here we go. Just Started. copywrite of articles are to their writer. (This site is only for Personal Viewing Purpose)