Thursday, May 9, 2013

यथार्थ नजिक 'ठेगाना'

 जन्मँदै मूल परेको भन्ने अन्धविश्वासका कारण छोरीको अनुहार नै हेर्न नपाएकी एक अभागी आमाले त्यसका लागि १८ वर्ष कुर्नुपर्ने बताइन्छ । मूल काट्नकै लागि आफ्नै काखकी बच्चीलाई छिमेकी गाउँको गरिब परिवारलाई पालन/पोषणका लागि सुम्पन उनी बाध्य हुन्छिन् । नाबालिकालाई वात्सल्य सुख दिन नपाइरहेकै पीडामा उनले आफ्नी छोरी बेचिएको सुन्नुपर्छ । पाल्न दिइएको परिवारले विदेशीलाई पैसाका लागि बेचिदिन्छ । त्यसपछि बच्चाकी आमा लहडी बन्छिन् । सपनामा बर्बराउूछिन्, विपनामा रित्तो काखको बच्चालाई सुसार गरेको कल्पना गर्छिन् ।
'ठेगाना' पूर्णतः पारिवारिक कथा हो । निर्देशक रामशरण पाठकले नै कथा/पटकथा तयार पारेको फिल्ममा पात्रको मानसिक द्वन्द्वलाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । सन्तान हराएकी आमाको भूमिकामा मिथिला शर्माले वजनदार काम गरेकी छन् । तर उनका संवाद सहितका अभिनय भन्दा बिनासंवादको भावभंगी बढि जीवन्त लाग्छन् । कथा पनि सुरुमा उनकै पक्षबाट सुनाईन्छ । कुनै दिन छोरी अवश्य आउने आशामा ती आमै बाटो हेरेर बसेकी हुन्छिन् । चार वर्षको उमेरमा धर्म सन्तानको रूपमा अमेरिका पुगेकी गौरी थातथलो खोज्दै १४ वर्षपछि स्वदेश फर्किंदा ग्योरी -अनु) बनिसकेकी हुन्छे ।
भौतिक द्वन्द्व नअटाएको फिल्ममा पात्रबीचको मानसिक द्वन्द्वलाई भने यथार्थपरक रुपमा उठान गरिएको
छ । आमाबाबु र जन्मथलो खोज्दै आएकी ग्योरीलाइर्   कुमार -अयुव) ले सहयोग गर्छ । आफुले कीन आमाबाबुको माया पाउन सकिन ? के कारणले त्यति टाढा पठाईयो ? भन्ने जस्ता प्रश्न लिएर ग्योरी स्वदेश आएकी हुन्छे । तर उसले जब आफ्नै आमाबाबुले न्वारनकै दिनमा अर्कैका हातमा सुम्पिइएको बुझेपछि दुःखी बन्छे । आफूमा केही खोट देखेरै आमाबाबुले अस्वीकार गरेको अनुमानकै भरमा ऊ फर्किन खोज्छे तर त्यसो हुँदैन ।
चलचित्र विकास बोर्डबाट विशेष फिल्मको मान्यता पाएको 'ठेगाना' अन्धविश्वासको परम्परालाई उठाउन खोजिए पनि कथामा खासै भिन्न त छैन तर केही पक्षमा भने विशेष छ । फिल्ममा अनावश्यक मारकाट र नृत्यको गलगाँड छैन । प्रकाश संयोजनका हिसाबले पनि फिल्म वास्तविकताको नजिक छ । यसमा पाश्र्व संगीतको कोलाहल छैन । बरु एकतारे बाजादेखि सारंगी र पन्चेबाजासम्मका संगीत फिल्ममा अटाएको छ । जुगल डंगोलको उक्त काम प्रशंसनीय छ । धार्मिक अन्धविश्वास रहेको ग्रामीण परिवेशलाई सेट बनाइएको फिल्मका प्रस्तुतिले पनि त्यसलाई मज्जाले सघाएको छ । नृत्यलाई व्यावसायिकभन्दा वास्तविकता नजिक पुगेर उतार्ने प्रयास गरेका छन्, गोविन्द प्रभातले । अनावश्यक प्रकाशले वस्तुलाई नचम्काएकै भए पनि सुमन तन्डुकारको क्यामेराले खिचेको दृश्यमा कुनै कैफियत छैन ।
फिल्ममा समाजका परम्परागत मान्यतालाई पनि राम्रोसँग प्रस्तुत गरिएको छ । त्यसो त उपत्यकाका कलाकौशल र रीतिरिवाजलाई पनि आकर्षक ढंगले देखाइएको छ । वास्तवमा फिल्म जानकारीमूलक पनि बनेको छ । राजाराम पौडेलको ठट्यौलो चरित्रले स्वस्थ मनोरञ्जन दिएको छ । निर्देशकीय हिसाबले पाठक सफल देखिएका छन् । अभिनयमा पात्रहरु सहज देखिएका छन् । अनुले अमेरिकी शैलीको नेपाली संवाद्मा पनि अभिनय भावलाई खुस्काएकी छैनन् । बरु शुरुदेखिको फिल्मको 'टेम्पो' पछिल्लो अवस्थासम्म आईपुग्दा ढिलो बनेको छ । ग्योरीले सबै वास्तविकता बुझेर पनि आमाबाबुलाई भेट्न नचाहनुको कारणमा बलियो तर्क भेटिँदैन । तर पनि फिल्म 'ठेगाना' बाट निर्देशक पाठकले बलियो सम्भावना भने देखाएका छन् ।
सुशील पौडेल

No comments:

Post a Comment