२०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा माओवादीले थालनी गरेको सशस्त्र
जनयुद्धका कारण नेपाली जनताले अथाहा पीडा भोग्नुप-यो । १५ हजारभन्दा धेरै
सपुतले ज्यान गुमाए । हजारौं अंगभंग भए । बेपत्ता हुनेको संख्या पनि
उत्तिकै छ । शान्तिप्रक्रिया सुरु भएको पाँच वर्ष बितिसक्दा पनि युद्ध
अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउन सकिएको छैन । बरु निहत्था जनतामाथि
गरेको अत्याचार र दमनको पुरस्कारस्वरूप कोही मन्त्री बनेका छन् त कोही
बढुवा भएर जर्नेल, कर्णेल र आईजीपी भएका छन् । भलै युद्ध अपराधीलाई कारबाही
गर्नुपर्ने माग अझै मत्थर भएको छैन । यही मेसोमा निर्देशक केपी पाठक पनि
चलचित्र ‘मैना’मार्फत युद्ध अपराधीविरुद्ध बुलन्द आवाज लिएर आएका छन् । यो
चलचित्रमा निर्देशक पाठकले द्वन्द्वकालमा तत्कालीन शाही नेपाली सेनाद्वारा
चरम यातना र बलात्कारपछि हत्या गरिएकी काभ्रे खरेल थोककी १५ वर्षीया
निर्दोष बालिका मैना सुनुवारको कथालाई जस्ताको तस्तै उतार्ने प्रयास गरेका
छन् । जसले चलचित्र हेर्ने हरेक दर्शकलाई एकपटक संकटकालमा भोगेको त्रासदीको
सम्झना गराउँछ ।२०६० साल फागुन ५ गते तत्कालीन शाही नेपाली सेनाको एउटा जत्था काभ्रे खरेलथोककी स्थानीय महिला अगुवा देवी सुनारलाई पक्रन उनको घर पुग्छ । देवीको कसुर भनेको उनकी दाजुकी छोरीलाई सेनाले बिना कसुर पक्रेर बलात्कारपछि हत्या गर्छ । त्यसैले उनले पत्रकार र मानवअधिकारवादीसमक्ष पु-याएर घटना सार्वजनिक गर्न सहयोग पु-याउँछिन् । तर यो कुरा सेनालाई सेह्य हुँदैन । त्यसैले माओवादीको आरोपमा उनलाई पक्रन काभ्रेको खरेलथोक पुग्छ । तर, देवी माइतबाट फर्केकी हुन्नन् । त्यसपछि सेनाको आँखा देवीकी छोरी मैनामाथि पर्छ र मैनालाई लछारपछार गर्दै घरबाट लैजान्छ । अर्कोदिन मैनाको बाबुआमा ब्यारेक पुग्दा पक्राउ नै नगरेको जवाफ दिन्छ । त्यसपछि छोरीको खोजीमा देवी प्रहरीदेखि जिल्ला प्रशासनसम्म धाउछिन् । तर कुनै अत्तँेपत्तँे पाउँदिनन् । तैपनि थाक्दिनन् र दुईवटा नाबालक बच्चालाई घरमा छोडेर श्रीमान्लाई लिएर काठमाडौं आउ“छिन् । यहाँ आएपछि उनले पत्रकार र मानवअधिकारवादी संघसंस्थासम्म पुगेर छोरीको खोजी गरिदिन अनुरोध गर्छिन् । जसबाट घटना सार्वजनिक गर्न चौतर्फी दबाब बढ्छ । बल्ल सेना मुख खोल्न बाध्य हुन्छ र भन्छ– मैनाको हत्या भइसकेको छ । त्यसपछि मैनाको शव–उत्खनन गर्ने र दोषीलाई कारबाही गर्ने प्रक्रिया बढ्छ । सेनाले आफ्ना एक अधिकृतलाई विभागीय कारबाही गरेजस्तो पनि गर्छ । तर, अझ पनि दोषीलाई अपराधअनुसारको कारबाही हुन सकेको छैन ।
‘मैना’को मुख्य कथा यति हो । जुन बनावटी र मनगढन्ते घटनाहरूबाट मुक्त छ । खरेलथोकस्थित मैनाको घर र विद्यालयमै छायांकन गरिएकोले पनि सिनेमा अझ जीवन्त बनेको छ । ‘मैना’को भूमिकामा देखिएकी अनिता केसीको अभिनय तारिफयोग्य छ । त्यस्तै, देवीको भूमिकामा देखिएकी राधा श्रेष्ठ र मैनाकी बाबु बनेका गोविन्द प्रभातले पनि जीवन्त अभिनय गरेका छन् । तर अन्य केही सहायक पात्र, खासगरी रीना रसाइलीकी आमाको अभिनय भने बनावटीझैं लाग्छ । जसले दर्शकको एकाग्रता भंग गर्ने डर हुन्छ । सायद व्यावसायिक कलाकार नभएकोले पनि निर्देशकले चाहेअनुसारको अभिनय गराउन नसकेका हुन सक्छन् ।
छायाकार जीवनाथ सुवेदीले अनावश्यक ‘जुम इन र आउट’बाट सिनेमालाई जोगाएका छन् । जसबाट सिनेमा अझ सजीव बनेको छ । मैना सुनुवारले नै लेखेकी ‘अहिले हामी साना छौं’ बोलको गीतले हरेक दर्शकको मुटु बिझाउँछ । रामेशको संगीतले मैनाको शब्दको न्याय गरेको छ । नयनराज पाण्डेले पात्रहरूलाई क्लिस्ट बोल्नुपर्ने झन्झट दिएका छैनन् । दैनिक जीवनमा मानिसले प्रयोग गर्ने शब्द, भाषा र शैलीमै पटकथा तयार पारिएको छ । यी सबै कुराले ‘मैना’लाई आर्टिफिसियलभन्दा पनि नेचुरल सिनेमा बनाएको छ ।
कतिपयलाई यो सिनेमा एकपक्षीय लाग्न सक्छ, जुन स्वाभाविक पनि हो । किनभने यहाँ सेना वा राज्य पक्ष्ँको बर्बरतामात्र देखाइएको छ, विद्रँेहीका अत्याचार र दमनबारे सिनेमा मौन छ । तर यथार्थ यस्तो होइन । किनभने ‘मैना’ विषय प्रधानभन्दा पनि घटना प्रधान चलचित्र हो । यो दसवर्षे जनयुद्धको सजीव चित्रण होइन् । यसले त सिर्फ युद्धको समयमा सरकारी सेनाद्वारा हत्या गरिएकी एक निर्दोष बालिकाको कथालाई ‘हुबहु’ प्रस्तुत गरेको छ । त्यसैले यहाँ विद्रँोही पक्ष्ँको कमजोरी खोजिनु सान्दर्भिक हुँदैन । बरु यो सिनेमाले राज्यलाई जनताप्रति जवाफदेही र न्यायिक हुन एक खालको दबाब सिर्जना गर्दछ ।
‘मैना’को कमजोरी भनेको धमिला दृश्यहरू हुन् । पाँच वर्ष अगाडि नै निर्माण सम्पन्न भएकोले पनि प्रविधिगतरूपमा केही कमीकमजोरी भएको हुन सक्छ । हतारमा छायांकन गर्नु परेकोले सोचेजस्तो राम्रँे बनाउन नसकेको निर्देशक स्वयम्ले स्वीकारेका छन् । यस्ता केही समस्याबाट अछूतो नरहे पनि प्रत्येक सचेत नेपालीले एकपटक हेर्नैै पर्ने चलचित्र हो, मैना । किनभने अरू धेरै ‘मैना’हरू, चाहे राज्यपक्ष्ँबाट पीडित भएका हुन्, चाहे विद्रोही पक्षबाट, ती सबैको कथाव्यथा सिनेमा जस्तो सशक्त र प्रभावकारी माध्यममार्फत बाहिर आउनैपर्छ । अनिमात्र सिनेमा समाजको प्रतिबिम्ब र मार्गदर्शक हुनका साथै स्तरीय मनोरञ्जनको माध्यम बन्छ । जुन अहिले नेपाली सिने क्ष्ँेत्रको टड्कारो आवश्यकता बनेको छ ।
(देशान्तरबाट)
No comments:
Post a Comment