Friday, April 26, 2013

फिल्म समिक्षा 'धन्दा'

'कलात्मक शैलीको हिंसा

निर्देशक :  सुदर्शन थापा
कलाकार :  अर्पण थापा, समुना केसी, बसन्त भट्ट र कमलमणि नेपाल

पछिल्लो पटक रिलिज भइरहेका नेपाली फिल्ममध्ये 'धन्दा' नौलौ शैलीमा प्रस्तुत भएको फिल्म हो। नँया स्वाद चाहने दर्शकलाई फर्मुला फिल्मबाट घटेर प्रयोगवादी फिल्म बनेको छ। शुक्रबारदेखि रिलिजमा आएको निर्देशक सुर्दशन थापाको 'धन्दा' वैदेशिक रोजगारमा पठाइ दिने आश्वासन दिएर ढगी गर्ने म्यानपावरहरुमाथि केन्द्रित छ। लभस्टोरी फिल्म निर्देशन गरिरहेको सुर्दशनको यो प्रसाय नेपाली फिल्मका लागि सकारात्मक रुपमा लिन सकिन्छ। ग्रामीण भेगको स्कुलमा खेलकुद सिकाउने सामान्य शिक्षक सुन्दर सपना छ। विवाहित उनी श्रीमतीसंगको सुन्दर भविष्यले विदेशिने सोचमा पुग्छन्।
गाँउले मामासंगको संगतले अमेरिका पुग्ने सपनासंगै घर धितो राखेर नौ लाख म्यानपावर कम्पनीलाई बुझाउछन्। पैसा बुझाएको धेरै दिन भइसक्दापनि उनी विदेश पुग्न पाएका हुदैनन्। दलालले उनलाई मार्ने योजनाबाट उनी भाग्यले बाँच्छन।
कलात्मक मेकअप शैलीका कारण निमा लामाले आफ्नो कला प्रस्तुत गर्ने राम्रो अवसर पाएका छन। टाउकोमा रगत जमेर मानसिक सन्तुलन गुमाउने अवस्थामा उनी अस्पतालको बेडमा देखिन्छन। यसपटक अभिनेता अर्पण थापा राम्रा अभिनेतासंगै राम्रा स्त्रि्कप्ट लेखकसमेत हुने भन्ने प्रष्ट भएको छ। उनीद्धारा अभिनित 'धन्दा'ले उनको दुवै क्षमताको पृष्टी गरेको छ। वास्तविक कथामा आधारित धन्दाको सम्पूर्ण काममा उनी हावी देखिएका छन्। परिवारलाई खुसी राख्ने सपना देखेका अर्जुन(अर्पण थापा)को जीवनमाथि 'धन्दा'को कथा तयार भइको छ।

पैसा माग्दा उल्टो अचेत अवस्थामा भर्ना गरिएको उनीको अनुहार र जीउ भर डरलाग्दो घाऊ देखाइन्छ। पहिलो दृश्यमै अर्जुनले अनुहारले दर्शकलाई तर्साउन सक्छ। आफ्ना अनुहारकै कारण परिवारले आफूलाई नस्वीकार्ने पिडाले उनी छटपटिन्छन। त्यहीबाट सुरु भएको फिल्मको अन्तसम्म हिंसात्मक दृश्य समावेश गरिएको छ।  फिल्ममा प्रस्तुत गरिएको संगीतले फिल्मको कथालाई प्रस्ट बनाएको छ। वास्तविक देखाउन हिंसा र रगतले दर्शकलाई तर्साउने दृश्य धेरै छन्। मध्यम वर्णको घृणलाग्दो कोठामा बिताइएको दिन र विगतको कथाले दर्शकलाई भावनात्मक बनाउन सक्छ। अर्जुन फिल्ममा मौन छन। तैपनि उनले गरेको अभिनय उत्कृष्ठ देखिन्छ। राम्रा श्रीमानको भूमिकामा राम्रो रुपमा देखिएका शहरमा भने डरलाग्दो लुक्समा देखिन्छन्।

शरीरभर टाँका लगाइएका घाउ बोकेर अर्पणले  बोलीबिनानै एकपछि अर्कालाई मारिरहेका हुन्छन।  उनी कहिलेकाँही विगत सम्झदाँ पत्नी (समुना) सँगको प्रेमालाप र बाबुसँगको सम्बन्धमा पनि सहज देखिइएको छ। व्यस्त सडकमा हत्या हुँदा र अस्पतालबाट भागेका घाइते प्रहरीकै निगरानीमा परेको कुरा फिल्ममा समावेश छैन। रगतको दृश्यमाथि सेन्सरले खासै कैची लगाउन नसकेको छैन। यहाँ फिल्मको कोरियोग्राफीमाथि खासै गृहकार्य नगरिएको देखिन्छ। अर्पणको हत्याको प्रयास गर्दा बोरामाथि खुकुरीले हानेको देखाइएपनि बोरा च्यालिएको समेत छैन। चम्चाकाँटाले घाटीमा सिरेर मानिस मारेपछि पनि हल्मेटले काँटालाई ठोक्ने दृश्य अत्याधिक हिंसात्मक मानिन्छ। फिल्म हेर्ने जान दर्शकलाई प्रोमो र पोष्टरले प्रोत्साहन दिन्छ। 'धन्दा'को पोष्टर र प्रोमोले दर्शकलाई फिल्म हलसम्म डोर्‍याउन सकेको छैन। थि्रलर भनिएपनि सुरुकै केहि दृश्य हेर्न मिस भयो भने फिल्म
बुझ्न सकिन्न्। विषयवस्तु समसामयीक र सन्देशमूलक छ। अभिनयहरु बेजोड र स्वभाविक लाग्दछ। फिल्ममा हिंसा हेर्न नसक्ने तथा बालबालिकाले चाहिं धन्दा नर्हेनु राम्रो हो। हिंसाको अत्याधिक प्रयोग फिल्मको खड्किन पाटो बनेको छ। हिंसालाई बढी कलात्मक ढंगबाट प्रयोग गर्न खोजेको भए फिल्मको कलात्मक पक्ष अझ दरिलो बन्ने थियो।

फिल्म समिक्षा: स्काईफल (अंग्रेजी)

कलाकार : डेनियल क्रेग, नाओमी हेरिस, जेवियर बर्डम, जूडी डेन्च
निर्माता : माइकल जी. विल्सन, बारबरा ब्रोकली
निर्देशक : स्याम मेन्डिस
गीत : थोमस न्यूम्यान
अवधि : १४२ मिनेट
फिल्मको प्रकार: एक्सन
रेटिंग : ४.५। ५   

ब्रिटेनमा रिलीज भएको बोन्ड सीरीजको यस नयाँ फिल्मले बक्स अफिसमा आफ्नो कमाइको रेकर्ड बनाएको छ । संसारभरमा यस फिल्मलाइ धेरै दर्शकहरूको क्रेज देखेर ट्रेड एनालिस्टहरूले ७५० करोडमा बनेको यस फिल्मले २,००० करोड भन्दा धेरै व्यापार गर्ने भविष्यवाणी गर्न थालेका छन् ।

करीब ४३ बर्षका डेनियल क्रेगले यस पटक फेरी बोन्डको भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । यो देखेर ती आलोचकहरूको मुख बन्द भएको छ, जसले बोन्डको भूमिकाका लागी क्रेगको ठाउँमा कुनै नयाँ युवा अनुहार ल्याउनु पर्ने वकालत गरिरहेका थिए ।

यस फिल्ममा क्रेगले डरलाग्दो, मुटुनै हल्लाउने एक्शन दृश्यहरू दिएका छन् । साथै उनका इमोशनल सीनहरू देख्दा उनका प्रसंसकहरूले यस सीरीजको आगामी फिल्ममा पनि क्रेगलाइनै हेर्न चाहन्छन् । यस फिल्मका निर्माताले तिव्र गतिमा चलिरहेको ट्रेनमा छायाँकन गरिएको दृष्यहरू देखाइएको छ । यस फिल्मका डाइरेक्टर स्याम मेन्डिसको तारिफ गर्नै पर्दछ किनभने उनले संसारमा पहिले देखिनै पहिचान बनाइसकेका बोन्डको भूमिकालाइ फेरी एक पटक संसार सामु ल्याएका छन् । तपाइँले सिनेमाहलबाट बाहिर निस्केपछि पनि ब्रास ब्याण्ड टीमको साथमा तयार गरिएको ब्याकग्राउण्ड म्यूज़िक, ट्रेन एक्शन र बाइक रेसिङको सीन याद गरिरहनु हुनेछ ।

कथा: बोन्डलाइ एक पटक चारैतिरबाट समस्यामा परेको आफ्नो एजेन्सी एमआई -६ र आफ्नो रिसाह बोस एम (जूडी डेन्च) लाइ बचाउनु पर्नेछ । आफ्नो ड्यूटी प्रति पुरै इमान्दारीता पनि देखाउनु पर्नेछ । एक सीक्रेट अपरेशनमा एमको कारणले बोन्ड आफ्नो एक साथीको गोलीको शिकार हुन्छन् । यस पछि बोन्ड मारिएको समाचार फैलन्छ । यो समाचार फैलिएपछि बोन्डको एजेन्सी एमआई -६ लाइ साइबर टेररिस्ट सिल्वा (जेवियर बर्डम) ले बरवाद गर्नमा लाग्दछ । अर्को तर्फ बोन्ड आक्रमणमा गम्भीर रूपले घाइते भएका थिए र अब उनी ठीक भएर एक पटक फेरी दुश्मनहरूसंग सामना गर्नका लागी फेरी फर्कन्छन् ।

अभिनय: डेनियल क्रेगले बोन्डको भूमिकामा एक पटक फेरी आफ्नो उत्कृष्ट अभिनयलाइ जिविज पारेका छन् । डेनियलको यस बदलिएको शैलीका कारण उनका आलोचकहरूले पनि सयद यस सीरीजको अर्को फिल्ममा पनि उनलाइ हेर्न चाहनेछन् । भिलेन सिल्वाको भूमिकामा जेवियर यस पटक भने केही सहज देखिएका छन् । यस नयाँ शैलीमा उनी निकै जमेका पनि छन् । जूडी यस पटक इमोशनल दृश्यहरूमा खरो उत्रिएकी छन् । नाओमी हेरिसको बोन्डका साथ लव मेकिङ सीनमा उत्कृष्ट केमिस्ट्री रहेको छ ।

डाइरेक्शन: स्याम मेन्डिसले स्क्रिप्टका साथमा शत प्रतिशत न्याय गरेका छन् । क्रेगमाथि छायाँकन गरिएका एक्शन दृश्यहरूमा स्यामको मेहनत देखिएको छ । फिल्मको शुरू देखि लिएर क्लाइमेक्स सम्मनै फिल्मले दर्शकहरूलाइ बाँधेर राख्न सफल भएको छ । पुरा फिल्मभरीनै दर्शकहरूले केही सोच्ने मौका समेत पाउँदैनन् । मकाऊ, इस्तान्बुल र लण्डनको लोकेशनमा स्यामले क्यामराम्यानसंग राम्रो काम लिएका छन् ।

किन हेर्ने: यदि तपाइँले जेम्स बोन्ड सीरीजको अघिल्ला फिल्महरू नहेरेको भए पनि यो फिल्म हेर्दा राम्रो हुन्छ । यदि तपाइँ बोन्डको प्रसंसकनै हुनुहुन्छ भने त यो फिल्म तपाइँका लागी निकै महत्वपूर्ण छ । बोन्डमाथि फिल्माइएका उत्कृष्ट एक्शन, स्टन्ट सीन, उत्कृष्ट फोटोग्राफी, राम्रा लोकेशन सहित फिल्ममा हेर्ने यस्ता धेरै कुराहरू छन्, जुन कुराहरू तपाइँ हलबाट निस्केपछि पनि याद भैरहन्छन् ।

फिल्म समिक्षा : काठमाण्डू –मिरर इन द स्काई

             ‘काठमाण्डू : मिरर इन द स्काइ’सँग मेरो भावनात्मक सम्बन्ध छ । यो फिल्म जसमाथि बनेको हो, ती स्पेनिस
महिलासँग गतिलै चीनजान छ । प्रहरीद्धारा निर्घात कुटपिट गरिएपछि नर्भिक अस्पतालको वार्डमा उपचार गराइरहेकी उनै भिक्टोरिया सुविरानासँग तीन वर्षअघि मेरो पहिलो भेट भएको थियो । अन्ततः सर्वोच्च अदालतले उनको पक्षमा फैसला ग-यो र स्पेनले फिल्म बनायो । म जतिबेला ‘यो साता’ साप्ताहिकमा काम गर्थेँ । अहिलेपनि उनी भिक्टोरिया आफ्ना पति, नेपाली कानुन र यहाँको सिस्टमसँग लडिरहेकी छिन् । ग्राजुएट गरेका उनका छोराछोरी अहिलेपनि नागरिकताविहिन छन् । स्पष्ट भन्नुपर्दा, जति नजिकबाट मैले भिक्टोरियालाई चिनेको थिएँ, उति नै भिक्टोरियामाथ बनेको यो फिल्मले ममा कुनै प्रभाव पार्न सकेन । किनभने स्टोरी टेलिङ भनेको पृथक कुरा हो ।
मेरो समिक्षा : चलचित्र (काठमाण्डू-मिरर इन द स्काइ)
रेटिङ : २ तारा
स्टार कास्ट : भेरोनिका इचुगुई, सौम्यता भट्टराई, नोर्बु छिरिङ लामा
राम्रो के छ : भेरोनिकाको बहुचरित्रकरणयुक्त (मल्टिडायमेन्सन) अभिनय, सिनेम्याट्रोग्राफी र हल्का दर्शकीय मनोविज्ञान
नराम्रो के छ : द्वन्द्वमै आधारभूत समस्या । इन्गेजमेन्ट, औपन्यासिकता र भावनात्मक सम्प्रेषणको अभाव । ड्रामा हावी । भिक्टोरिया सुविराना (न्यारेटर)को बायोपिक रुपान्तरणमै समस्या ।
लु ब्रेक : जतिबेला पनि ।
हेरम कि नहेरम : अवश्य पनि हेरम साथीहरू । नेपाली समाजलाई नजिकबाट नियाल्न हेर्न जरुरी छ । हेर्नुभएन भने राम्रो फिल्म गुमाउनुहुनेछ । याद रहोस, यो फिल्ममा रेखा थापाको जस्तो मसाल चाहिँ मिसाइएको छैन । यो डार्क फिल्म हो ।

शान्ति प्रक्रिया नभाँड्ने 'बधशाला'

          सेना पक्षले प्रतिबन्धै लगाउन खोजेको फिल्म 'बधशाला' रिलिज हुनु अभिव्यक्ति स्वतन्त्रताको जित हो। एउटा फिल्मकर्मीलाई जुनसुकै विचारधाराबाट प्रेरित भई फिल्म बनाउने छुट हुँदाहुँदै धेरैले शंका गरे, फिल्म कतै माओवादीको पक्षमा त छैन। जबकि, कुनै पनि विषयमा बनेको अतिरञ्जित फिल्मलाई कसरी सामना गर्नुपर्छ भन्ने विवेक नेपाली दर्शकमा छ। सेना पक्षले यही विवेकशीलताको अवमूल्यन गर्न खोज्यो।
सहरका भित्ताहरुमा परेड खेलिरहेको बर्दीधारी पोस्टर हेर्दा 'बधशाला'ले सेनाको गौरवगाथा गाउँछ कि भन्ने लाग्छ। फिल्मले चाहिँ कसैको गुणगान गाउँदैन। अँध्यारो खोरमा थुनिएका बन्दी र तिनलाई केरकार गर्ने सैनिकबीचको मानसिक टकरावमा उभिएर फिल्मले द्वन्द्वकालको एक झल्को दिन्छ। बन्दी र सैनिक दुवैलाई आफ्ना आदर्श वाक्यहरु फालाक्न लगाइएको छ। तर यो 'वक्तृृत्वकला'मा कसैले कसैलाई पराजित गर्दैन।
विषयवस्तु र शीर्षकअनुसार 'बधशाला'मा हिंसा छ। तर हिंसा देखाइए पनि यो हिंसाविरोधी फिल्म हो। सेनाले आरोप लगाएजस्तो शान्ति प्रक्रिया भाँड्ने खालका दृश्यहरु यसमा छैनन्। प्रचण्डको 'टेप प्रकरण'ले नभाँडिएको शान्ति प्रक्रिया एउटा फिल्मले कहाँ भाँडिन्छ र?
माओवादी र सेना दुवै पक्षका लडाकुहरुको बौद्धिकता र हार्दिकताको गुणस्तरलाई फिल्मले कोट्याएको छ। एक उच्च सैनिक अधिकृतको हत्यारा पत्ता लगाउने सेनाको उद्देश्यवरिपरि फिल्म घुम्छ, जसले गर्दा सैनिक र बन्दीबीचको द्वन्द्वलाई राजनीतिक होइन कानुनी तहमै सीमित पार्न निर्देशकलाई सजिलो भएको छ।
फिल्ममा लगभग सबै कलाकार रंगमञ्च पृष्ठभूमिका छन्। उनीहरुको स्वाभाविक अभिनयले फिल्मको स्तर बढाएको छ। आफूले निर्वाह गरेका पात्रलाई जीवन्त बनाउन उनीहरु चुकेका छैनन्। एउटा द्विविधाग्रस्त र विचलित सैनिक जवानको भूमिकाप्रति दयाहाङ राईले न्याय दिएका छन्। शिक्षक बन्दी बनेका खगेन्द्र लामिछानेलाई एक आशालाग्दो कलाकारका रुपमा लिन सकिन्छ। मेजरको भूमिकामा अनुप बरालको व्यक्तित्व सुहाएको छ।
फिल्मको संवाद तारिफयोग्य छ। धेरैजसो संवाद पात्रहरुले आत्माबाट सम्प्रेषण गरेझैं लाग्छ। पात्रका स्तरअनुसार संवाद र संवादको स्तरअनुसार मुड सिर्जना गरिएको छ। 'टेन्सन' पैदा गरी फिल्मलाई गतिशील बनाउन सफल छ संवाद।
बन्दी र सैनिकबीचको मानवीय सम्बन्ध दयाहाङ र खगेन्द्र तथा अनुप र सौगातबीचको दृश्यमा मर्मस्पर्शी ढंगमा उजागर भएको छ। सधैं आँखामा पट्टी बाँधिए पनि बन्दी खगेन्द्रले सैनिक जवान दयाहाङलाई आफू नजिक आउँदा चिनिहाल्छ। दयाहाङलाई खुल्दुली लाग्छ, 'कसरी चिन्यौ?' खगेन्द्रले नडराई जवाफ दिन्छ, 'तपाईं आउँदा सूर्तिको बास्ना हरर्र फैलिन्छ।' त्यसरी सुरु हुने दयाहाङ र खगेन्द्रको सूर्ति-साइनो मार्मिक त छ नै, यही नै कथाको निर्णायक 'इलेमेन्ट' बनिदिन्छ।
मेजर अनुपले माओवादी छापामार सौगातसँग आफ्नो कक्षमा गरेको चिया-वार्ताले फिल्म इज्जतिलो बनेको छ। यो दृश्यलाई 'लङ टेक'मा प्रस्तुत गरेर निर्देशकले दुई पात्रको संवेदना र स्वाभिमानलाई स्वतन्त्र पोखिन दिएका छन्। चलनचल्तीको भन्दा धेरै लामो यो 'सट' कलात्मकताको सराहनीय नमुना हो। फिल्मले फेरेको यो 'लामो सास'ले धेरै मानसिक थकान दूर गर्छ।
फिल्मका पात्रहरुलाई सकेसम्म रोचक बनाउन खोजिएको छ। सेना पक्षका अनुप, दयाहाङ, अर्पण, पुष्कर र आशान्तका संवेदनाको ग्राफ फरकफरक छ। आशान्तका हरकतले ह्युमर उत्पन्न गराउँछ तर उनको उपस्थितिलाई कथामा गाँठो पार्न सकिएको छैन।
फिल्मको पूर्वार्द्धमा दृश्यहरु दिशाहीन जेलिएको छ। यातना दिएका एउटै खाले दृश्य दोहोरिन्छ। फिल्ममा कथा र मुख्य पात्र अलि छिट्टै स्थापित गर्दा राम्रो हुन्थ्यो। तैपनि लगातारको 'रिपिटेसन'ले दर्शकमा एकप्रकारको उकुसमुकुस पैदा गरिदिन्छ। कैदीको भोगाइलाई दर्शकले आत्मसात गर्ने अवसर यसले दिन्छ।
अँध्यारो महसुस गराउन उज्यालो पनि देखाउनुपर्छ। 'बधशाला'मा फिल्मभित्रका पात्र र दर्शक दुवैले अभाव महसुस गर्ने भनेको बाहिरी खुला हावा नै हो। फिल्म विधामा 'ओभरएक्सपोजिसन' नराम्रो हो। तर 'बधशाला'मा त विषयवस्तुको 'ग्य्राभिटी'अनुसार 'एक्सपोजिसन' नै पुगेको छैन।
ह्युमरको भरपूर खुराकले यो फिल्म न्यास्रो हुनबाट जोगिएको छ। पात्रहरुलाई पिडा हुँदा पनि दर्शकलाई हाँसो लाग्नसक्छ। हाँसो र पिडा मिसिएको डार्क कमेडीको हल्का अभ्यास हो यो।
नेपाली फिल्ममा हुने 'लाइट पोलुसन'बाट 'बधशाला' मुक्त छ। आवश्यक नहुँदा पनि उज्यालो खेर फाल्नु 'लाइट पोलुसन' हो। तर, यसमा 'लाइटिङ'को डिजाइन कलात्मक छ। मुडअनुसार अँध्यारो, मधुरो र पारिलो प्रकाश छ्यापिएको छ। फिल्मको छायांकन पनि विषयको संवेदनशीलतासँग एकाकार छ।
अन्तिम दृश्यको 'कन्स्ट्रक्सन' तुलनात्मक रुपले फितलो देखिन्छ। यस दृश्यमा पात्रहरुको संवाद र क्रिया अपरिपक्व लाग्छ। जबकि यो महŒवपूर्ण दृश्य अरुभन्दा सुगठित हुनुपर्थ्यो।
विषय सुन्नेबित्तिकै खर्चिलो हुन्छ भनेर पन्छिने फिल्मकर्मीलाई 'बधशाला'ले बाटो देखाएको छ। फिल्म बन्न भौतिक पूर्वाधारभन्दा रचनात्मक कथा, मानवीय संवेदना र स्वाभाविक अभिनय चाहिन्छ भन्ने पुष्टि यसले गरेको छ।
द्वन्द्वकालको कथा भए पनि भीषण गोलाबारुद यसमा छैन। सामान्य गनफाइट पनि छैन। इतिहासको कालखण्डबाट साधारण कथानक कसरी उठान गर्न सकिन्छ? 'बधशाला' एउटा उदाहरण बनेको छ।

समिक्षकः दीपेन्द्र लामा
फिल्मः बधशाला
रेटिङः पाँचमा तीन तारा
निर्देशक/लेखकः मनोज पण्डित
निर्माताः मोहन डोटेल
कलाकारः सौगात मल्ल, अनुप बराल, दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछाने, पुष्कर गुरुङ, आशान्त शर्मा, सरिता गिरी, समुना केसी आदि।