Saturday, May 11, 2013

फिल्म समीक्षा: मञ्जरी- चालीस लाखको झुठ!

नयाँ कलाकार, निम्न मध्यम वर्गीय पात्र र बुटवलको 'सेटिङ'ले फिल्म 'मञ्जरी' स्थानीय स्वादको हुने अनुमान थियो। नजिकैको टोल, चोक र गल्लीका पात्रलाई टिपेर मौलिक कथा बुनिएको झैं लाग्थ्यो। ठूलो हलचल पैदा नगरे पनि यसको प्रोमोले फिल्म केही न केही ताजा हुने संकेत दिएको थियो।

फिल्मको सुरुवातमा 'सत्य घटनाबाट प्रेरित' भन्ने वाक्य लेखिएको छ। तर, फिल्म हेरेपछि धेरैले असलियत थाहा पाए। सुरुमै केही भारतीय निर्माता निर्देशकको नाम उल्लेख गर्दै आभार प्रकट गरिएको छ। तैपनि कुन फिल्मको रिमेक हो भन्ने चाहिँ खुलाइएको छैन। निर्माता–निर्देशकले नलेखे पनि 'मञ्जरी' सन् २००८ को बंगाली फिल्म 'चिरोदिनी तुमी जे अमर'को अनाधिकृत रिमेक हो भन्ने थाहा पाउन दर्शकलाई गाह्रो परेन। किनभने अचेल निर्देशकभन्दा दर्शक कैयौं गुणा चलाख र 'अपडेटेड' छन्।
सिलिगुडी र कोलकाताको परिवेशमा बनेको 'चिरोदिनी तुमी जे अमर' फिल्म आफैं पनि मौलिक होइन। सन् २००४ को तामिल फिल्म 'काढल'को रिमेक हो यो। 'काढल'लाई सन् २००७ मा कन्नड भाषामा 'चेलुभिना चित्तारा' नामले पनि रिमेक गरिसकेको छ।

'मञ्जरी'का निर्माता–निर्देशकले आफ्नो फिल्म भारतमा थोत्रो भइसकेको पटकथामा आधारित भनेर कतै खुलाएका छैनन्। यो एकप्रकारको ठगी नै हो। जब आफू नै इमान्दार हुनसक्दैनन् भने निर्देशकले दर्शकलाई के सिकाउने? फिल्म निर्देशकलाई बौद्धिक व्यक्तिको रुपमा इज्जत दिइन्छ। किनभने उसले समाजलाई अरुलेभन्दा फरक आँखाले हेर्छ। 'क्रियटिभिटी' उसको बलियो हतियार हुनेगर्छ। 'मञ्जरी'का निर्देशक गणेशदेव पाण्डेले चाहिँ न त कुनै फरक दृष्टि पेश गरेका छन् न दुनियाँमा 'क्रियटिभिटी' भन्ने शब्द हुन्छ भन्ने नै स्विकारेका छन्।

'मञ्जरी' बनाएर यसका निर्माता निर्देशकले ३५–४० लाख रुपैयाँको झुठ बोलेका छन्। जतिसुकै महँगो भए पनि झुठ भनेको झुठ हो। दर्शकले कहिल्यै माफी दिनेछैनन्। यसका निर्माता–निर्देशकले आफू कुन हैसियतको फिल्मकर्मी हो, उदांगो पारेका छन्।

'मञ्जरी'ले चोरेको 'प्लट' पनि कुनै अद्वितीय वा संसारमै उदाहरणीय मानिएको कथा होइन। गरिब केटा र धनी केटीबीचको घिसिपिटी प्रेम नै यसको कथा हो। बुटवलमै योभन्दा मार्मिक कथा भेटाउन सकिन्थ्यो। यसतर्फ निर्माता–निर्देशकले किन जाँगर नचलाएका हुन्? बु‰नुपर्ने कुरा के हो भने, नेपाली फिल्मकर्मीले कथा खोज्ने नेपालमै हो, भारततिर होइन। नभनिएका कथाहरु हामीसँगै थुप्रै छन्। कुनै विदेशी फिल्मकै रिमेक गर्नुपर्ने अनिकाल यहाँ सुरु भइसकेको छैन।

आफ्नो समाजको कथालाई मौलिक शैलीमा भन्नु निर्देशकको दायित्व हो। निर्देशकको मौलिक शैली भनेको उसले निर्माण गर्ने दृश्य भाषा हो। यसका लागि निर्देशकले सट साइज, क्यामेरा एंगल, रिदम र एडिटिङमा आफ्नोपन झल्काउन सक्नुपर्छ। 'मञ्जरी'मा यी सबै पक्ष बंगाली फिल्मबाट जस्ताको तस्तै साभार गरिएको छ। बंगाली निर्देशकले भन्दा फरक एंगल प्रयोग गर्ने क्षमता पनि निर्देशक पाण्डेमा देखिएको छैन।

सन् २००४ मा दक्षिण भारतको एउटा सानो सहरको पात्रको मनोविज्ञान र अहिलेको बुटवलको पात्रको मनोविज्ञान उस्तै हुँदैन। निर्देशक पाण्डे यो अन्तर केलाउन पनि चुकेका छन्। दोस्रो जनआन्दोलनपछि नेपाली समाजमा शैक्षिक चेतना र महिला अधिकारमा ठूलै जागृति आइसकेको छ।

बुटवल सहरको एउटा धनाढ्य, प्रतिष्ठित र कथित ठूलो जातको परिवारमा स्कुल पढ्दै गरेकी १६ वर्षे छोरी मञ्जरी (सुजाता कोइराला)लाई बिहे गर्न जबरजस्ती गरेको दृश्य पत्यारलाग्दो छैन। कुनै ठूलो कारण नभई यस्तो रुढीवादी कदम अचेल विरलै चालिन्छ होला। नेपाली समाजमा आएको परिवर्तनलाई सम्बोधन गर्न नसकिएको हो यो।

ईश्वर(गौरव पहाडी)लाई टोलवासीका अगाडि निर्घात कुटपिट गरिन्छ। दण्डहीनतामा गाँजिएको नेपाली समाजमा त्यस्तो दादागिरी त चल्नसक्छ। तर, त्यसप्रतिको प्रतिक्रिया पनि कम दमदार हुँदैन। राजनीतिक दल, जातीय संस्था, मानवअधिकारवादी जत्था र मिडिया जस्ता संस्थाहरुले त्यस्तो खुला गुन्डागर्दीलाई ठूलै मुद्दा बनाउँछन्। भारत र नेपालको ठाउँ र समयको अन्तरलाई चिन्न नसकिएको प्रमाण यो पनि हो। ईश्वरमाथि धोका दिँदै कुटपिट गरिएपछि ईश्वर आफैं वा उसका साथीभाइ–परिवार चुप लागेर बस्दैनन् होला। फिल्मको कथाले यो कौतुहलतालाई त्यतिकै छोडेको छ। जबकि मुख्य पात्रमाथि भएको सबैभन्दा ठूलो विपद नै यही हो।

गौरव र सुजाता दुवैले नेपाली फिल्ममा 'फ्रेस अनुहार'को मेनु बढाउने काम गरेका छन्। 'रियलिस्टिक एक्टिङ' पस्किन उनीहरु सफल देखिन्छन्। टिका पहाडी, विष्णु रिजाल, सुजन थापा र रेशम फिरिरीको अभिनय पनि सराहनीय छ। जमानामा 'चाँदनी' र 'मोहनी लाग्ला है' जस्ता फिल्ममा हिरो बनेर हराएका विष्णुको 'कमब्याक' आनन्ददायी लाग्छ।

परम्परागत ब्याकग्राउन्ड म्युजिक र इफेक्टले फिल्ममा 'साउन्ड पोलुसन'को महसुस हुन्छ। तीन वर्षपछि ईश्वरलाई देख्दा मञ्जरीले गरेको रुवाबासी, भित्ताका फोटो देखेर मञ्जरी लजाएको, केटी आएको थाहा पाएर केटाहरुले हैरान पारेको र टिका पहाडीले श्रीमती र भाइबुहारीलाई बेल्टले पिटेको जस्ता दृश्य अतिरञ्जित छन्।

'मञ्जरी'को 'जादू' बोलको गीत हिन्दी फिल्म 'शोर इन द सिटी'को 'साइबो' गीतको 'स्लो भर्सन'जस्तो सुनिन्छ। संजोगवश गीत मिल्न गएको भए पनि फिल्मकै कथा आयात गरिएकोले संगीतकारलाई पनि चोरीको आक्षेप लगाउन धेरैलाई सजिलो भएको छ। यस्तो सम्भावनाप्रति स्रष्टा सजग हुनुपर्छ।

फिल्म बनाउनुअघि लामो 'मेन्टल प्रोसेस'बाट गुजि्रनुपर्छ। अध्ययन, चिन्तन, छलफल, अनुसन्धान आदि प्रक्रियाबाट गुजि्रएको भए 'मञ्जरी' टोलीले तामिल फिल्म 'काढल'को भन्दा राम्रो कथा बुटवलमा भेट्नसक्थ्यो। निर्देशक गणेशदेव पाण्डेको 'क्रियटिभ इनर्जी'माथि पनि यति धेरै प्रश्न उब्जिदैनथ्यो।
समिक्षकः दीपेन्द्र लामा

फिल्मः मञ्जरी

रेटिङः पाँचमा दुई तारा

निर्देशक/लेखकः गणेशदेव पाण्डे

निर्माताः महेश चालिसे

कलाकारः गौरव पहाडी, सुजाता कोइराला, टिका पहाडी, विष्णु रिजाल, सुजन थापा, रेशम फिरिरी आदि।

No comments:

Post a Comment