काठमाडौंबाट पानी बगेको हजारौं वर्ष भइसक्यो
तर यसको तलाउ चरित्र भने यथावत छ। यहाँ लाखौं मान्छेबीच माछाझैं तैरिने,
डुब्ने र बग्ने संघर्ष चल्छ। कोही सफल हुन्छ, त कोही असफल। लाखौं मान्छेका
पसिना र आँसुले भरेको काठमाडौं नामको यही 'तलाउ'मा तैरिएको एउटा डुंगाजस्तो
लाग्छ, फिल्म 'अन्तराल'।काठमाडौंका दृश्य नसमेटिएको नेपाली फिल्म सायदै
होलान्। काठमाडौं सयौं नेपाली फिल्ममा छाइसकेको छ। तर, काठमाडौंको यथार्थ
जीवन उप्काउन भने निकै थोरै फिल्म सफल छन्। 'लुट' र 'साँघुरो'पछि
'अन्तराल'मा काठमाडौंका युवाहरुको भोको पेट र मिठो सपनाको मौलिक कथा
पस्किएको छ।
- फिल्म: अन्तराल
- रेटिङ:
- निर्देशक: दीपा बस्नेत
- लेखक: अभिमन्यु निरबी
- निर्माता: बीबी बस्नेत, लक्ष्मीकान्त पाण्डे
- कलाकार: मानव सुवेदी, नम्रता सापकोटा, कमलमणि नेपाल, अशिष्मा नकर्मी, राजकुमार पुडासैनी, लोकेन्द्र लेखक, घनुभाइ जोशी, जेसिका बोगटी, अमितेश शाह, रुबी राणा, उज्ज्वल शर्मा भण्डारी आदि।
म्यानपावरमा पैसा डुबाएको घनु, आमाबाउको घर छोडेर आएको रिदम, घरबेटीकी छोरीसँग लभ गर्ने कमलीकान्तजस्ता समाजको संस्थापन पक्षप्रति बागी युवाहरु मात्र होइन सामन्ती र मानवताविहीन पात्रको प्रतिनिधित्व गर्ने डांगो र जीवनलाई दिमागले बाँच्ने रमेशजस्ता 'मेकानिकल' पात्रले पनि 'अन्तराल'को क्यान्भासमा रङहरु पोतेका छन्।
निर्देशक दीपाले आफूले भोगेका र देखेका निम्नमध्यम वर्गीय पात्रहरुका कथालाई फिल्ममा परिचालन गरेकी छन्। त्यहीभएर यो विश्वसनीय लाग्छ। बिना कुनै रिसर्च आफूले नभोगेका उच्च वर्गीय वा निम्नमध्यम वर्गीय पात्रमाथि फिल्म बनाउन खोज्दा धेरै नेपाली निर्देशक चुकेका छन्। 'अन्तराल' यसमा चुकेको छैन।
'राम्रो रचना मिठो नेपाली' शैलीका एकैखाले घोकन्ते संवाददेखि दिक्क भएकालाई 'अन्तराल'ले सञ्चो बनाइदिन्छ। पात्रसुहाउँदो र पात्रको मर्म प्रकट गर्ने संवादले आनन्द दिन्छ। संवादहरु सम्बन्धित पात्रका गरिबी र दयनीयताप्रति नै व्यंग्य गर्ने खालका छन्। कतैकतै चाहिँ संवाद सम्प्रेषण नाटकीय सुनिन्छ। यसमा मिहेनत गरिएको भए हुन्थ्यो।
सबै कलाकारका रियलिस्टिक अभिनयले फिल्म सिंगारिएको छ। आफूले पर्दामा उतार्न लागेको पात्रका जीवनसँग घुलेर काम गरेका छन् कलाकारहरुले। डांगो बनेका राजकुमार पुडासैनी अद्भूत देखिएका छन्। नाटकबाट आएका कलाकारले सशक्त अभिनय गर्छन् र उनीहरु घुलनशील हुन्छन् भन्ने नजीर फेरि बनेको छ। नेपाली फिल्ममा नयाँ सक्षम कलाकारको विविधता थपिने क्रम जारी छ। रुबी राणा र रिदमबीच आमा–छोराको वास्तविक केमिस्ट्री भने निर्माण गर्न सकिएको छैन।
डांगोले आफ्नो घरबाट डेरामा बस्ने केटाहरुको सामान फ्याँकिदिएको दृश्यमा काठमाडौं सहरको असली चरित्र उजागर भएको छ। गरिबलाई किराफट्यांग्राको पनि दर्जा नदिने काठमाडौंका धेरैजसो सुकिलामुकिलाको झझल्को पाइन्छ डांगोमा। डांगो अनुत्पादक, अराजक र विवेकहीन छ। पुर्ख्यौली सम्पत्ति भएकोले ऊ काम गर्दैन। काठमाडौंको सामन्ती चरित्र उसमा छ।
कलेजको माहौल, रेस्टुरेन्टको दृश्य र केटाहरुको डेराको इन्टेरियरले फिल्मको 'फिजिकल रियालिटी' बलियो देखिएको छ। मुख्य पात्रलाई मात्र ध्यान दिने गर्दा धेरै नेपाली फिल्मका फिजिकल रियालिटी भताभुंग भएका छन्। 'अन्तराल'मा चाहिँ साना–साना पात्रको उपस्थितिमा समेत ध्यान दिइएको छ।
कलेजको दृश्य थोरै छ, तर रोचक छ। घाँटीमा 'नेक ब्रेस' लगाएर लेक्चररले क्लास लिइरहेको दृश्यले नेपालको शिक्षा पद्धतिको अस्वस्थतालाई इंगित गर्छ। कुनै सिस्टम वा डिभाइसको टेकोबिना नेपाली शैक्षिक संस्कृति सुदृढ हुन नसक्ने व्यंग्य उक्त 'नेक ब्रेस'मा झुन्डिएको छ।
फिल्ममा बिझ्ने पक्ष छायांकन हो। छायाँकार शिवराम श्रेष्ठको काम स्थीर छैन। कतैकतै 'फर्म'मा देखिने उनले धेरै दृश्यमा बाटो बिराएका छन्। 'रुल अफ थर्ड', हेड रुम, लिड रुम, गोल्डेन रेसियोजस्ता आधारभूत सिद्धान्त समेत धेरै ठाउँमा लत्याइएको छ। फ्रेमिङ सन्तुलित छैन। कम्पोजिसनको सुन्दरता विचलित छ। रिदमसँग अनलाइनमा कुरा गर्ने पूजालाई काठमाडौं नआउन्जेल कम्प्युटरकै स्त्रि्कनमा सीमित गरिदिएको भए दर्शकलाई पनि ऊ निकै टाढा रहेको महसुस हुन्थ्यो।
धेरै पात्र हुँदा पटकथामा देखिने समस्याले 'अन्तराल'लाई पिरोलेको छ। रिदमले एल्बम निकालेर 'फ्लप' भइसक्दा बाँकी पात्रहरुको 'जर्नी'को ग्राफलाई पटकथा लेखक अभिमन्यु निरबीले चटक्कै बिर्सेका छन्। कम्तीमा एल्बम प्रकरण सकिसक्दा घनुको छटपटी, कमलीकान्त र मनिला, डांगो र केटाहरुको सम्बन्धमा धेरै 'पानी बगिसक्नु' पर्ने हो।
डिजे नामक पात्रले घरबेटीकी छोरीलाई आँखा लगाएको प्रसंग सुरुमै आउँदा पछि अर्कै डेरामा अरु नै केटाहरुले मनिलालाई हेर्दा 'रिपिटेसन'को महसुस हुन्छ। यसले डेरामा बस्ने केटाहरुको काम नै घरबेटीकी छोरी ताक्नु हो भन्ने गलत तर्क दिन खोजेको छ। चामल र मट्टितेल सिद्धिएर केटाहरु निराश हुन्छन्। तर, त्यसको तत्काल समाधान कसरी गरियो, फिल्मले देखाउनुपर्थ्यो, देखाउँदैन।
फिल्मको अन्त्यतिर चार पात्रहरुको सफलता 'सर्ट–कट'मा देखाइएको छ। सुरुमा उनीहरुको समस्या र संघर्षमा जुन सुक्ष्म वर्णन थियो, सफल हुने प्रक्रियामा पनि लगभग उतिकै सुक्ष्मता हुनुपर्थ्यो। केही कमजोरी भए पनि लेखक अभिमन्युले भविष्यमा अझ राम्रा फिल्म दिनसक्ने सम्भावना बोकेका छन्।
ठेलामा मःमः बेच्ने निष्कर्षमा केटाहरु कसरी पुगे? उनीहरुसँग अरु विकल्प थिएनन्? कसरी त्यही उपाय ठिक ठाने? जस्ता प्रश्नप्रति फिल्म मौन छ। केटाहरुको समूहमा पूजा मिसिनेबित्तिकै मःमः खाने ग्राहक भीड लागेको र 'गोटी' खेलेको हेरेकै ठाउँबाट पुलिसले केटाहरुलाई समातेको दृश्यहरुमा निर्देशकको अपरिपक्वता छरप्रष्ट हुन्छ। कमलीकान्त र मनिलाले आकास हेरिरहँदा तारा खसेको निकै नियोजित छ।
गीतहरु मेलोडीप्रधान छन् तर फिल्ममा अनिवार्य सुनिने चाहिँ 'माइलोको पीडा'मात्र हो। त्यही गीतका कारण कमलीहरु र रिदमबीच चिनाजान हुन्छ। बाँकी गीतहरु फिल्मको स्टाइल अनुकूल त छन् तर तिनको प्रयोग फिल्मको 'स्पिरिट' सुहाउँदो हुन सकेको छैन।
फिल्म कलेज पढेकाले राम्रै फिल्म बनाउँछन् भन्ने जरुरी छैन। तैपनि ओस्कार फिल्म कलेजमा पढेकी दीपाले 'अन्तराल'लाई एउटा हेर्नलायक फिल्म नै बनाएकी छन्। उनको पढाइको नाक जोगिएको छ।